नेपालगन्ज, ११ माघ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संरचना अनुसार प्रदेशका सबै कार्यालयहरु समानुपातिक रुपमा स्थापना हुनुपर्ने बताउनुभएको छ ।
प्रदेशको राजधानी जुनसुकै स्थानमा भएपनि राजधानी भएको ठाउँमा सबै अफिस तथा मन्त्रालयहरु हुन नहुने अध्यक्ष प्रचण्डको भनाइ छ । बिहीबार बाँकेको नेपालगन्जमा प्रादेशिक महोत्सवको उद्घाटन गर्दै प्रचण्डले राजधानीबारे आफ्नो फरक धारणा रहेको बताउँदै अफिसहरु समानुपातिक रुपमा वितरण हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डलाई प्रदेश राजधानीको माग गर्दै ज्ञापनपत्र समेत बुझाइएको थियो । उहाँले प्रदेश ५ को राजधानी बा“के हुनुपर्छ भन्ने बाँकेबासीको माग शीर्ष नेतृत्वसमक्ष राख्ने आश्वासन समेत दिनुभयो ।
अहिले तोकिएको मुकाम अस्थायी मात्र भएको र प्रदेशसभाले रियल राजधानी तोक्ने भन्दै अध्यक्ष प्रचण्डले यदि नेपालगञ्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यलय राख्न पहल गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा बोल्ने प्रतिनिधि तथा प्रदेश सांसद् सहितका वक्ताहरुले नेपालगञ्जलाई प्रदेश राजधानी बनाउनु पर्ने माग गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले बाँकेलाई औद्योगिक हबको रुपमा विकास गर्न सरकारसँग माग गरेका थिए ।
नेपालगन्ज उद्योग बाणिज्य सघंको आयोजनामा भएको महोत्सव माघ २२ गतेसम्म चल्नेछ । महोत्सव उद्घाटनपूर्व नेपालगन्ज नगरमा ¥याली समेत निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्