काठमाडौँ, २२ चैत । पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन् । मंगलबारदेखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ । यसरी मूल्य घटाउँदा आफूहरूलाई नसोथिएको कुखुरा किसानको गुनासो छ ।
जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ। ४०० रुपैयाँ किलो रहेको तयारी मासुको मूल्य ३९० रुपैयाँ पुगेको संघका अध्यक्ष जंगबहादुर बेल्बासेले बताए।
पोल्ट्री व्यवसायीले किसानको खोरबाट प्रतिकिलो २८० रुपैयाँमा खरिद गरी ३९० मा बेच्ने गरेका छन् । नेपाल कुखुरा किसान संघका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यवसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने चेतावनी दिएका छन् ।
पोल्ट्री व्यवसायीले आफूहरूसँग २००–२५० रुपैयाँ प्रतिकिलो खरिद गरेर लैजान्छन् र त्यसलाई तयारी गरेर ४०० देखि ४५० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण गर्ने गरेको अध्यक्ष पौडेलले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्