काठमाडौँ, २६ माघ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ स्थान प्राप्त गरेका पाँच राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारको नामावलीको विवरण पठाउन निर्देशन दिएको छ ।
समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे आज औपचारिक रुपमा जानकारी दिँदै आयोगले यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समानुपातिक र समावेशिताको आधार मिलाएर यही माघ २९ गतेभित्र पठाउन दलहरुलाई पत्रचार गरिएको जनाएको छ ।
आयोगका अनुसार समानुपातिकतर्फ नेकपा(एमाले)ले ४१, नेपाली काँग्रेसले ४०,नेकपा(माओवादी केन्द्र)ले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ–छ स्थान प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ ४९ दलले बन्दसूची पेश गरेकामा एमाले (३१,७३,४९४), काँग्रेस (३१,२८,३८९) माओवादी केन्द्र (१३,०३,७२१), राजपा (४७२,२५४) र समाजवादी फोरम (४७०,२०१) ले मात्र राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त गर्न आवश्यक कूल सदर मतको न्यूनतम मत सीमा तीन प्रतिशत कटाएका छन् ।
प्रतिक्रिया दिनुहोस्