काठमाडौं, ८ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दको अवज्ञा गरेको भन्दै कैलालीका विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड गर्नुको साथै दर्जनौ सवारी साधनहरु नियन्त्रणमा लिएको छ ।
धनगढी, चौमाला, लम्कीलगायत क्षेत्रमा सवारी साधन तोडफोड गरिनुको साथै नियन्त्रणमा लिइएको हो । धनगढीको चौराहामा कार र लम्कीस्थित धोबिनी खोला नजिककै ना ३ ख २५६३ नम्बरको ट्रकमा तोडफोड गरिएको छ । धनगढीको शिवनगर, पार्कमोड, क्याम्पस चौक, चटकपुर, मोती चौकबाट ९ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जनाइएको छ ।
तर जिल्ला प्रहरी कार्यालयले कुनै पनि सवारी साधन कसैको नियन्त्रणमा नरहेको बतायो । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर इन्द्र मल्लले जिल्लामा कहि पनि अप्रिय घटना नघटेको दावी गरे । त्यस्तै तोडफोड गर्ने प्रदर्शनकारीहरुलाई समेत नियन्त्रणमा लिन सकिएको छैन ।
उक्त पार्टीले आफ्नो नेता कार्यकर्ता नियन्त्रणमा लिएको भन्दै नेपाल बन्दको घोषणा गरेको थियो । बन्दले धनगढीलगायत कैलालीको अधिकांश बजार क्षेत्र बन्द रहेको छ । तर चार पाँग्रे सवारी साधनवाहेक दुई पांग्रे सवारी साधनलाई भने निर्वाध रुपमा चल्न दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्