काठमान्डु जेठ १७
लाज हराएको समाज निर्माणको सारथी हुं म
आउ छोरीहरु मेरो हातमा हत्कडी लगाउ।
न्याय हराएको देश निर्माणको बिम्ब हुं म
हिम्मत गर छोरीहरु मेरो लागि पिन्जडा बनाउ।
मैले सिकाएको सिकाइले हिंसक बनेर
मेरो छोराले तिमीलाई बलात्कार गर्दा
ममताको पछ्यौरी ओडेर मैले
समाजलाई नै दोष दिन्छु।
मेरै सिकाइले लजालु बनेर
तिमीले प्रतिकार गर्न नसक्दा
परम्परा र युग भनेर मैले नै
अनेक भाषण दिन्छु।
आउ मेरो हातमा हतकडी लगाउ
मलाई संजाय देउ।
किनकी म तिम्रो आमा हैन।
तिमी जन्मेको दुइबर्ष नहुंदै
बलात्कार गर्ने छोरा जन्माउने
सांच्चै मान्छे हुं भन्ने अधिकार मलाई छैन।
आउ मलाई संजाय देउ
युग बदल्ने लडाइँ लड।
सन्तानलाई राम्रो सिक सिकाउ
नयां युगको सुरुवात गर।
समाजलाई मात्र दोष दिएर
म जस्तै कायर नबन।
आउ मलाई सक्दो संजाय देउ
केही गर्न सकिनन आमाले नभन।
प्रतिक्रिया दिनुहोस्