काठमाडौँ, १३ फागुन। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन प्रक्रियाको गृहकार्य गर्न समिति गठन गरेको छ । बैठकले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको समिति गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
समितिले संसदीय दलको नेता चयनका लागि सर्वसम्मति वा निर्वाचन प्रक्रियालाई पूर्णता दिन आवश्यक गृहकार्य गर्नेछ ।
काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।
नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिकानुसार काँग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गरी पारित गरेको छ ।
बैठक प्रारम्भ गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको गम्भीर समीक्षा गरेर प्राप्त निष्कर्षबमोजिम पार्टीलाई अघि बढाउने सन्दर्भमा आगामी बैठकमार्फत निर्णय गरिने जानकारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्