काठमाडौं, १५ फागुन । नेकपा एमालेका तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रितको शालिक अनावरण गरिएको छ ।
स्वर्गीय नेता आश्रितको काठमाडौं महानगरपालिका–७ स्थित सरस्वती नगरमा रहेको नवनिर्मित भवन परिसरमा निर्माण गरिएको शालिकको जनसंख्या तथा बातावरण मन्त्री लालबावु पण्डितले अनावरण गर्नुभयो । मदन भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका नेता आश्रित एमालेका कुशल संगठक मानिन्छन् ।
उनै नेता आश्रितको परिवारका निम्ती राधिका ट्रष्टले आवास निर्माण गरिदिएको थियो । तत्कालिन भूमिसुधार मन्त्री राधाकृष्ण मैनालीका पालामा नेता आश्रितको परिवारका निम्ती ८ आनाको जग्गा नेपाल सरकारले दिएको पत्नी माया ज्ञवालीले बताउनुभयो ।
जग्गा सरकारले दिएपनि तुलसा थापाको पहलमा शुभचिन्तकहरुले एक तला भवन निर्माण गरिदिएको थियो । तर बाँकी २ तला भवन अष्ट्रेलियामा बस्दै आउनुभएका तेह्रथुम निवासी राधिका ट्रष्टकी अध्यक्ष राधिका पोख्रेलको पहलमा गत वर्ष निर्माण सम्पन्न भएको थियो ।
२०५० साल जेठ ३ गते पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा मदन भण्डारी र आश्रति चढेको पजेरो जीप दासढुंगामा दुर्घटना परी निधन भएको थियो। दुर्घटनामा जिप चालक अमर लामा जिवित रहेपनि पछि उनको हत्या भएकाले उक्त दुर्घटना रहस्यमय मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्