सप्तरी, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मलेठ घटनाले नै मधेशी दलहरुलाई एकताको एउटै छातामूनी ल्याउ बाध्य गरेको बताएका छन् । २
०७३ साल फागुन २३ गते एमालेको मेचीमहाकाली अभियान अन्तरगत सप्तरीको मलेठमा भएको घटनामा प्रहरीको गोली लागि मारिएका पाँच जना सहिदको प्रथम पूण्यतिथि तथा श्रद्धाञ्जली सभामा बुधबार बोल्दै नेता महतोले मलेठ घटनाबाट उत्प्रेरित भएर अहिले प्रदेश नं। २ मा मधेशवादी दलको सरकार निर्माण भएको जिकिर गरे ।
उनले बाम सरकार दुई तिहाई बहुमत नजिक रहेको भन्दै संविधान संशोधन र सिमांकन समेत हेरफेर गर्ने सहमति जनाए राजपाले सरकारलाई समर्थन जनाउने बताए । उनले मधेशी जनता अझै अधिकार बिहीन रहेको भन्दै अधिकार दिलाउन बाम सरकारले मन ठूलो पारेर मधेशीहरुप्रति उद्धारता देखाउन आवश्यर रहेको जिकिर गरे ।
नेता महतोले सहीद परिवारहरुलागि कल्याण कोष खडा गरि राजपाका सम्पूर्ण सांसद तथा विद्यायकले सो कोषमा आफ्नो पहिलो सरकारी तलब जम्मा गर्ने बताए । आन्दोलनको समयमा प्रत्येक सहीद परिवारलाई ५० लाख दिने घोषणा समेत स्मरण रहेको भन्दै निकट भविष्यमा त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए ।
श्रद्धाञ्जली सभामा राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले मलेठ घटनामा सहीद भएका परिवारजनको लालन पालनका लागि प्रादेशिक सरकारले गर्ने बताउँदै उक्त घटनाले मधेशवादी दलहरुलाई एकबद्ध हुनमा ठूलो भूमिका निर्वाह गरेको जिकिर समेत गरे ।
सभामा प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, सामाजिक मन्त्री नवलकिशोर साह, कृषि मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले सहीद परिवारका एक सदस्यलाई प्रदेश सरकारले रोजगारी दिने र बालबच्चाहरुलाई निशुल्क शिक्षाको व्यवस्था मिलाउने तथा आन्दोलनका क्रममा घाइते भएकाहरुको जिवन यापनको जिम्मेवारी समेत प्रदेश सरकारले लिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्