रोल्पा, ५ चैत। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रोल्पाको अध्यक्षमा हर्कबहादुर घर्तीमगर चयन हुनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रोल्पाको आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमितिसमेत चयन गरेको छ ।
कार्यसमितिको पदाधिकारीमा खुवानी सुनारी मगर उपाध्यक्ष, कमानसिं पुनमगर सचिव, अञ्जली वाँठामगर सहसचिव र लक्ष्मी घर्तीमगर कोषाध्यक्ष चयन भएका छन् ।
नेपालका आदिवासी जनजाति पत्रकारले आफ्नो समुदायका मुद्दा फरक ढंगले उठाउनुपर्ने फोेनिजका केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक खेम बुढामगरले सुझाव दिनुभयो ।
अन्य समुदायका पत्रकारको तुलनामा आदिवासी जनजाति पत्रकारको भूमिका समाजमा दोहोरो हुने भएकाले सो जिम्मेवारी पूरा गरे मात्र आदिवासी जनजाति आन्दोलन सार्थक हुने बूढाको भनाइ थियो ।
फोनिजका मध्यपश्चिम संयोजक खेम बुढामगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रको अध्यक्षता अमरजित पुनमगरले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्