काठमाडौं, १९ चैत । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गाको अवलोकन गर्न सिताराम कट्टेल (धुर्मुस)सहितको टोली भैरहवा प्रस्थान गरेको छ । टोलीले त्यँहा विभिन्न स्थानमा प्रस्तावित गरिएको जग्गाहरुको सम्भाव्यता अध्ययन गर्ने बताईएको छ ।
प्राविधिकहरु समेतको भैरहवा जाने टोलीमा कलाकारहरु मनोज गजुरेल, कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे, गायक प्रमोद खरेल पनि छन् ।
टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रस्ताव गरेको जग्गाको अवलोकन गर्ने योजना छ । त्यस्तै सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले धुर्मुस-सुन्तली फाउन्डेसनलाई आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको बताएका थिए । टोली त्यहाँ पनि पुग्ने छ ।
महानगरपालिकाको प्रस्तावले आफूहरुलाई खुशी तुल्याएको तर स्थलगत अवलोकनपछि मात्रै केही भन्न सकिने कट्टेलले बताए ।
यसअघि सोमबार बिहान कीर्तिपुर र मुलपानीको मैदानको पनि अध्ययन-अवलोकन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको उपस्थितीमा गरिएको निरिक्षणबाट किर्तिपुरको मैदान रंगशाला निर्माणका निम्ति पर्याप्त देखिएन । मुलपानीको मैदान भने धेरै हिसाबले उपयुक्त देखिएको कट्टेलले बताए ।
‘हामीले चाहेको जस्तो ४० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न मुलपानीमा सम्भव देखिन्छ र सुरक्षा, निर्माण सहजता लगायतका हिसाबले पनि यो उपयुक्त स्थान हो,’ उनले भने ।
यधपी, अन्यत्र पनि जग्गा हेरेर सबैको सल्लाहमा निर्णय लिने उनले बताए । रंगशालाको नाम लर्ड बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्