रसुवा, ३० चैत। राष्ट्रिय प्राथमिकतामा परेको स्याफ्रुबेँसी–मैलुङ सडक आजदेखि खुला भएको छ ।
नेपाली सेनाबाट निर्माणाधीन १७ किमी दूरीको सडकमा नागरिक समाजका अध्यक्ष तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई नयाँ सडकमा गाडीमा गुडाई सडक खुला भएको जानकारी दिइएको स्याफ्रुबेँसी–मैलुङ सडक कार्यदलले जनाएको छ ।
विसं २०७२ वैशाखदेखि नेपाली सेनाले पाएको कार्यादेशबमोजिम निर्धारित समयमा नै काम भएको र अब दुई चार ठाउँमा टेवा पर्खाल र धुञ्चे पुछारको त्रिशूली नदी छेउको १०० मिटर दूरीमा सतह मिलाउने काम भइरहेको प्राविधिक सेनानी सञ्जय केसीले बताउनुभयो ।
सडक खुलेको सन्देश दिनका लागि पत्रकार तथा नागरिक समाजका अगुवालाई मैलुङदेखि स्याफ्रुसम्म मोटरमा पु¥याइएको थियो । सेनाले अब एक डेढ हप्तामा सबै काम सम्पन्न गरिसक्ने छ । सडक निर्माणमा हाल सम्म रु ६८ करोड ६९ लाख खर्च भएको र केही नपुग रकम माग गर्ने कामसमेत अगाडि बढिसकेको सडक निर्माण कार्यदलले जनाएको छ ।
सडक निर्माणमा चार जनाको मृत्यु र तीन जना घाइते भएको जनाइएको छ । नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्धि गर्न सहज हुने उक्त राजमार्ग गल्छीदेखि रसुवागढीसम्म पहिलेभन्दा २५ किमी कम हुने(गल्छी–बेत्रावती–धुञ्चे–रसुवागढी १०६ किमी र गल्छी–बेत्रावती–मैलुङ–रसुवागढी ८१किमी) निर्माणमा संलग्न प्राविधिकले बताएका छन् । सडकमा घुम्ती मोहडा नभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्