झापा, ३ वैशाख । झापा बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या संलग्न फरार रहेका थप दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । योसंगै हत्यामा संलग्न पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ बस्ने २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड नगरपालिका ३ निवासी २२ वर्षीय राहुल राजेश साह (राहुल) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले विशेष सुराकीको आधारमा झापाको बिर्तामोडबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई झापा अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन मुखिया फागुन २० गतेदेखि बेपत्ता थिए । वेपत्ता भएको ९ दिनपछि उनको शव मेची राजमार्ग अन्र्तगत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाडाको सडकबाट करिब २० फिट तल जुटको बोराभित्र भेटिएको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि बिर्तामोड ३ सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड ८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र सोही ठाँउका २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई पक्राउ गरेको छ ।
मुखियालाई व्यावसायिक रिसीइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथि मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्