काठमाडौँ, १३ वैशाख । कानूनी तथा संवैधानिक विषयमा ज्ञानको अभावमा ऊर्जा क्षेत्र समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीदेखि लगानी गर्न चाहनेले समेत हैरानी खेप्नु परेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा ऊर्जा क्षेत्रसँग सम्बन्धित नीति, नियम तथा कानूनमा प्रष्टताको अभाव रहेकाले लगानीकर्ता र समाचार प्रसारण तथा सम्प्रेषणमा समेत समस्या देखापरेको जानकारी दिइएको थियो ।
नेपालको ऊर्जा क्षेत्रसँग जोडिएका कानूनी तथा नीतिगत विषयमा लामो समयदेखि वकालत गर्दै आएका कानून व्यवसायीले कानूनी विषयमा थप प्रष्टताको जरुरी रहेकामा जोड दिएका थिए ।
विद्युत् ऐन, विद्युत् नियमावली, विद्युत् नियमन आयोग ऐन, विद्युत् प्राधिकरण ऐन, लगानी बोर्डजस्ता ऐन तथा मन्त्रालयले तयार पारेका कार्यविधि तथा अन्य नियमावलीका साथै ऊर्जामा लगानी गर्न चाहने तथा समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीले समेत सम्बन्धित विषयमा विशेष ख्याल राख्नुपर्ने कानून उनीहरूको भनाइ थियो ।
कानून व्यवसायी नारायण चौलागार्इंले कानूनी विषय र त्यसको व्यावहारिक पाटोमा सञ्चारकर्मी विशेष चनाखो हुनुपर्ने बताउनुभयो ।
कानूनी प्रश्नमा जानकारी नहुँदा गलत सूचना तथा जानकारी समाजमा पुग्ने भएकाले त्यसले लगानीकर्तालाई समेत प्रभाव पार्ने उहाँको भनाइ थियो । अर्का कानून व्यवसायी अनुपराज उप्रेतीले जलविद्युत् तथा ऊर्जा क्षेत्र प्राविधिक र धेरै कानूनी विषय जोडिने क्षेत्र भएकाले पनि विशेष सजगता अपनाएरमात्रै सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
अर्का कानून व्यवसायी नवीन भण्डारीले नागरिकलाई सही र तथ्यपूर्ण सूचना दिनका लागि पनि सञ्चारकर्मीले ऊर्जा क्षेत्रका ऐन, नीति नियम तथा कानूनी विषयमा विशेष जानकारी राख्नुपर्ने बताउनुभयो ।
सेजनका अध्यक्ष पुष्पराज आचार्यले आर्थिक पत्रकारितामा संलग्न सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि आफूहरुले फरक फरक विधामा तालीम, गोष्ठी तथा क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका ऊर्जा क्षेत्रमा कलम चलाइरहेका सञ्चारकर्मीको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्