काठमाडौं, १७ वैशाख । प्रहरीले फेईआडी बनाउने साथै फोनमा महिलाहरुलाई अश्लिल गाली गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे–५ घर भइ हाल झापाको मेची नगरपालिका–१० बस्ने ३० वर्षीय श्यामकृष्ण तामाङ भनिने श्यामकृष्ण सार्की छन् ।
उनलाई इलाका प्रहरी कार्यालय, अनारमनीले सोमबार पक्राउ गरेको हो । उनलाई बिर्तामोड–५ स्थित इलाम स्टेण्डबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाले बताए ।
‘उनीबाट हालसम्म ७ जना पीडित भएको खुलेको छ’, उनले भने, ‘उनले मोबाइलबाट समेत र्यान्डम्ली कल गरेर केटीले उठाए अश्लिल गाली गर्ने र भेट्न बोलाउने नभेटे फेक आईडी बनाएर हैरानी दिने गरेको उजुरी परेपछि नियन्त्रणमा लिएका हौं ।’
प्रहरीका अनुसार उनी एक सार्वजनिक यातायातमा ‘कन्डक्टर’ को रुपमा कार्यरत् थिए । उनले ९८०५३९७४९८ नम्बरको सीमबाट युवतीहरुलाई फोन गर्थे ।
उनीमाथि सार्वजनिक अपराध ऐन, २०२७ अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्