वीरगन्ज, १८ वैशाख । वीरगन्जको मेनरोडमै रहेको एक घरमा मंगलबार साँझ बम विस्फोट भएको छ । कपडा व्यापारी कमल राउत कुर्मीको घरमा बम विस्फोट भएको हो ।
विस्फोटमा भारत बिहारको छपराका १८ वर्षीय अमितकुमार पाण्डे घाइते भएका छन् । उनको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
कुर्मीले एक महिनाअघि सो घर किनेका थिए । त्यसलाई मातृका आई सेन्टरले आखाँ अस्पताल सञ्चालनका लागि भाडामा लिएको थियो ।
घरको कोठामा रंगरोगन गर्ने क्रममा सुतली बम विस्फोट हुँदा पाण्डे घाइते भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।
बम विस्फोट कसले र किन गराएको भन्ने बारेमा केही खुल्न नसकेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका लिम्बुले बताए । उनले विस्फोटनको बारे अनुसन्धान भइरहेका जानकारी दिए ।
बम विस्फोट भएको घर जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकबाट करिब दुई सय मिटरकोबीच दुरीमा छ ।
प्रतिक्रिया दिनुहोस्