बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय बागलुङको आयोजनामा तनाब व्यवस्थापन तथा खुसीयाली जीवन जिउने कला विषयक विभिन्न तालिम सम्पन्न भएको छ । शनिबार बिहान र दिउँसो गरी तीन चरणका तालिम सम्पन्न भएका हुन् ।
अन्तराष्ट्रिय प्रशिक्षक तथा राजयोगी ऋषिराम न्यौपानेले प्रशिक्षण गरेका थिए । प्रशिक्षणलाई विभिन्न विधामा विभाजन गरिएको थियो । बिहानको कार्यक्रममा धौलागिरि अस्पताल व्यवस्थापन समिति, धौलागिरि आर्युवेदीक अस्पताल व्यवस्थापन समिति, अस्पतालका चिकित्सक, बागलुङ नगर स्वास्थ्य शाखाका प्रतिनिधि, पत्रकार र व्यवसायी सहभागि थिए ।
तालिमको उद्घाटन गर्दै उच्च अदालत बागलुङका न्यायाधिस सरलाकुमारी पाण्डेले मानव जीवन तनाबले असहज बनिरहेको बेला यस्ता तालिम र प्रशिक्षणले जीवन जीउने कला सिकाएको बताइन् । साथै उनले तनाब छाडेर स्वस्थ्य र खुसी जीवन जीउन सकेमा समाज सभ्य र विवादरहित बन्ने बताइन् ।
कार्यक्रममा विश्वविद्यालयकी संचालक साबित्री दिदीले सबै जाती, धर्म र लिंगलाई समान रुपमा हेरेर सबैलाई खुसी भएर बाँच्ने वातावरण बनाउन तालिम आयोजना गरिएको बताइन् । तालिमका सहजकर्ता न्यौपानेले तनाब व्यवस्थापनका लागि आफ्नो भूमिका बुझ्नुपर्ने बताए । उनले खुसी रहने र खुसी बाँड्ने काममा लाग्दा शरिरमा सकारात्मक उर्जा आएर जीवन सुखमय बन्ने बताए । उनले विभिन्न खेल र गतिविधिको प्रशिक्षण गरे ।
शनिबारै दिउँसोको समयमा सहयात्रा बागलुङको आयोजनामा जिल्लाका विभिन्न संघसंस्था, लायन्स, लियो लगायतका संस्थाका अगुवा समेत सहभागि भए ।
कार्यक्रममा सहयात्रा बागलुङकी अध्यक्ष शकुन्तला शर्माले तनाब व्यवस्थापन गर्दा जीवन पनि सुखमय बन्ने भन्दै अन्तराष्ट्रिय प्रशिक्षकमार्फत सबैलाई तनाब व्यवस्थापनमा जोड्न पाएको बताइन् । त्यसअघि न्यौपानेले उच्च अदालत बागलुङका कर्मचारी र न्यायाधिसका लागि पनि यो तालिम संचालन गरेका थिए । केही दिन बसेर जिल्लाका चासो राख्ने स्थानमा तालिम संचालन गर्ने उनले बताए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्