कञ्चनपुर, १६ साउन । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेर मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुन निवासी २३ वर्षीय उत्तमसिंह कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कार्की शनिबार बिहान स्नातक तह होटल व्यवस्थापन (बीएचएम) प्रथम सेमिस्टरको प्रवेश परीक्षामा सहभागी भएका थिए। बिहान ८:१५ बजेदेखि सुरु भएको परीक्षा दिएर करिब ९:१५ बजे कक्षाबाट बाहिर निस्किएपछि उनले विश्वविद्यालय भवनको दोस्रो तलाको रेलिङबाट हाम फालेका थिए।
घटनापछि गम्भीर घाइते भएका कार्कीलाई तत्काल महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कार्की स्थानीय व्यवसायी पदमसिंह कार्कीका कान्छा छोरा हुन्। उनले वैजनाथ माध्यमिक विद्यालयबाट प्लस–टु उत्तीर्ण गरेका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्