काठमाडौँ । हिमाली मुलुक नेपालमा एक सयभन्दा बढी हिमताल फुट्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्। जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिन थालेसँगै नयाँ हिमताल बन्ने र विद्यमान हिमतालको जोखिम बढ्दै गएकाले तत्काल जोखिम न्यूनीकरणका नीति, योजना र कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ।
विज्ञहरूका अनुसार हिमतालको जलसतह घटाउने, जोखिमयुक्त तालको नियमित निगरानी गर्ने तथा प्रभावकारी पूर्वसूचना प्रणाली स्थापना र विस्तार गर्न सके हिमताल फुट्दा हुने सम्भावित क्षति कम गर्न सकिन्छ।
म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा रहेका हिमतालमध्ये नेपाल र तिब्बतमा जोखिमयुक्त हिमतालको संख्या बढी रहेको विभिन्न अध्ययनले देखाएका छन्।
चाइनिज एकेडेमी अफ साइन्सेसबाट हिमतालसम्बन्धी विद्यावारिधि गर्नुभएका वैज्ञानिक डा. नितेश खड्काका अनुसार पछिल्लो समय नेपाल र तिब्बती क्षेत्रमा हिमतालको जोखिम उच्च बन्दै गएको छ। भारतलगायत हिन्दुकुश हिमालय क्षेत्रका अन्य मुलुकमा भने तुलनात्मक रूपमा जोखिमयुक्त हिमताल कम रहेको उहाँको भनाइ छ।
उहाँका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा रहेका हिमतालको अवस्थाबारे सन् २०२० आसपास अध्ययन गरिएको थियो। त्यसयता पर्याप्त अध्ययन हुन नसकेको भए पनि बढ्दो तापक्रमका कारण हिउँ पग्लिने र नयाँ हिमताल बन्ने क्रम तीव्र भएकाले जोखिम थप बढिरहेको छ।
२१ होइन, सयभन्दा बढी हिमताल जोखिममा
यसअघि गरिएको एउटा अध्ययनले नेपालका हिमाली क्षेत्रमा रहेका २१ वटा हिमताल जुनसुकै बेला फुट्न सक्ने जोखिममा रहेको देखाएको थियो। तर पछिल्लो अवस्थालाई हेर्दा जोखिमयुक्त हिमतालको संख्या त्यसभन्दा निकै बढी रहेको डा. खड्काको दाबी छ।
नेपालमा दुई हजार तीन सयभन्दा बढी हिमताल रहेको तथ्याङ्क सार्वजनिक भएको उल्लेख गर्दै उहाँले सबै हिमताललाई समान रूपमा सुरक्षित मान्न नसकिने बताउनुभयो।
हिमपहिरोले बगाएर ल्याएको माटो, ढुङ्गा तथा गेग्य्रान थुप्रिएर बनेका हिमतालको संरचना कमजोर हुने भएकाले त्यस्ता ताल जुनसुकै बेला फुट्न सक्ने उहाँको भनाइ छ।
त्यसैले पुरानो अध्ययनमा उल्लेख भएका २१ वटा हिमताललाई मात्रै जोखिमयुक्त मान्नु पछिल्लो अवस्थाका लागि पर्याप्त नहुने उहाँले बताउनुभयो।
पूर्वसूचना प्रणाली विस्तार गर्नुपर्ने
हिमतालका अध्येता डा. अरुणभक्त श्रेष्ठले हिमताल फुट्ने जोखिम जहिले पनि रहिरहने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको विकास र विस्तार गर्नुपर्ने बताउनुभएको छ।
नेपालले यसअघि उच्च जोखिममा रहेका इम्जा र च्छोरोल्पा हिमतालको जलसतह घटाएर जोखिम न्यूनीकरण गर्ने काम गरिसकेको छ। सोही प्रकारका कार्यक्रम अन्य जोखिमयुक्त हिमतालमा पनि सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ।
सन् २०२० को अध्ययन प्रतिवेदनले नेपालबाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ हिमताललाई उच्च जोखिमको सूचीमा राखेको थियो। तीमध्ये तिब्बतमा २५ र भारतमा एउटा हिमताल जोखिममा रहेको अध्ययनले देखाएको थियो।
कोशी जलाधारमा बढी जोखिम
डा. खड्काका अनुसार नेपालमा जोखिमयुक्त हिमतालको संख्या कोशी जलाधार क्षेत्रमा सबैभन्दा बढी छ। त्यसमा पनि दुधकोशी जलाधार क्षेत्रमा हिमतालको जोखिम तुलनात्मक रूपमा बढी रहेको उहाँले बताउनुभयो।
नेपालका अधिकांश ठूला हिमनदी तथा नदीका मुहान तिब्बती क्षेत्रमा रहेकाले त्यहाँ रहेका जोखिमयुक्त हिमताल फुट्दा त्यसको प्रत्यक्ष असर नेपालका नदी जलाधारमा पर्न सक्ने विज्ञहरूको चेतावनी छ।
पूर्वका अरुण, दुधकोशी, तामाकोशी, भोटेकोशी, बुढीगण्डकी, मर्स्याङ्दी र हुम्ला कर्णालीलगायत नदीको पानीको मुहान तिब्बततर्फ रहेकाले तिब्बतमा हिमताल फुट्दा नेपालमा ठूलो बाढी आउन सक्ने डा. खड्काले बताउनुभयो।
तिब्बती क्षेत्रमा हिमताल फुट्दा नेपालका नदी किनारका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा ठूलो क्षति पुग्न सक्ने उहाँको भनाइ छ।
प्राडा रिजनभक्त कायस्थले पनि हिमतालको जोखिमलाई अत्यन्तै गम्भीर र संवेदनशील रूपमा लिनुपर्ने बताउनुभएको छ। विश्वव्यापी रूपमा बढिरहेको तापक्रमका कारण हिमनदी पग्लिने क्रम तीव्र हुँदै जाँदा नयाँ हिमताल बन्ने र विद्यमान हिमतालको आकार बढ्ने क्रम जारी रहेकाले जोखिम न्यूनीकरणका लागि सरकारले दीर्घकालीन रणनीति बनाउनुपर्ने विज्ञहरूको सुझाव छ।
Originally published on abcnews.com.np.


प्रतिक्रिया दिनुहोस्