काठमाडौं,३० भाद्र । म्यानपावर सञ्चालन गर्नका लागि अब ६ करोड धरौटी राख्नुपर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषको बैठकले विदेश पठाउने म्यानपावरले कायम गर्नुपर्ने धरौटी रकम बढाउने निर्णय गरेको हो।
उक्त ६ करोड धरौटी वार्षिक ४ हजारभन्दा बढी कामदार पठाउनेको हकमा गरिएको छ । त्यसभन्दा मुनि कामदार पठाउने म्यानपावरलाई ५ करोडभन्दा कम धरौटी कायम गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए ।
त्यसै गरी गृहकार्य गरेर साना म्यानपारवरलाई वर्गीकरण गर्ने र तिनको मर्जरमा जोड दिने निर्णय पनि सरकारले गरेको बताइएको छ ।
करिब एक साताअघि वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी म्यानपावरको धरौटी ६ करोड पुर्याउने श्रम तथा रोजगार मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित गरेको थियो ।
उक्त समितिले म्यानपावर सञ्चालनका लागि २ करोड नगद र ४ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने निर्णय गरेको थियो। समितिको सोही निर्णयलाई मन्त्रिपरिषद्ले सदर गरेको हो।
अहिले धरौटी रकम कम भएका कारण ठूला प्रकृतिका ठगी गर्ने म्यानपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन नसकिने अवस्था रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्