काठमाडौं, १६ मंसिर। बाराको जितपुर सिमरा उपमहानगरपालिका बजनीमा एक दम्पतीको हत्या भएको छ । व्यवसायीक गाईपालन गर्दै आएका ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको हत्या भएको हो । घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिबार बिहान फेला परेको हो । श्रीमतीको शव गाई फारमभित्र र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ छ ।
घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको र थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।
हत्या अनुसन्धानको लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीको टोली बारा गएकोछ ।
सुवेदी दम्पती गाई फारममा र उनीहरुका छोराछोरी घरमै सुतेका थिए । बिहान गाईहरु धेरै कराएपछि हेर्न जाँदा शव फेला परेको स्थानीयबासीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्