काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक जाम र अस्तव्यस्त यातायात व्यवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित सन् २०५० सम्मको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना सार्वजनिक गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पूर्वाधार विकास मन्त्रालयसँगको सहकार्यमा तयार पारेको यो गुरुयोजनामा यातायात व्यवस्थापन, सडक पूर्वाधार विस्तार र सार्वजनिक यातायात सुधारका ३५ वटा कार्ययोजना समावेश छन्। सरकारले मन्त्रिपरिषद्बाट स्वीकृत गराएर योजना कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ।
गुरुयोजनाअनुसार उपत्यकाका प्रमुख जाम हुने क्षेत्रमा महाराजगञ्ज, चाबहिल–गौशाला अन्डरपास, चाबहिल–बागमती र त्रिपुरेश्वर–माइतीघर आकासे राजमार्ग, विष्णुमती करिडोर एलिभेटेड हाइवे, नयाँ पुल, सडक विस्तार तथा नदी करिडोर स्तरोन्नतिलगायत १३ वटा प्रमुख सडक पूर्वाधार निर्माणको प्रस्ताव गरिएको छ। साथै ठमेल, काठमाडौं र ललितपुर दरबार क्षेत्रलाई सवारीमुक्त क्षेत्र बनाउने, साइकल लेन, बस प्रणाली सुधार, ट्राफिक सुरक्षा तथा सडकबाहिर पार्किङ व्यवस्थाजस्ता योजनासमेत समेटिएका छन्।
सरकारका अनुसार यो गुरुयोजना कार्यान्वयनमा आएपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र दिगो बनाउँदै सडक जाम न्यूनीकरण, सार्वजनिक यातायात सुधार तथा सुरक्षित आवागमन सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्