ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली बाढीमा सुरुङबाट ज्यान जोगाएर निस्किएका कामदारको कहालीलाग्दो कथा


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : १५   बजे

काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारमध्ये केहीले ज्यान जोगाएर बाहिर निस्किएका छन्। उनीहरूले अन्धकार, तीव्र पानीको बहाव, लेदो र भग्नावशेषबीच घण्टौँ संघर्ष गरेर जीवन बचाएका हुन्।

रामचन्द्र नाम गरेका एक कामदारले बाढीको भेल आउँदा सुरुङको छतमा जडान गरिएको फलामे खुड्किलो समातेर ज्यान जोगाएको बताएका छन्। उनी सुरुङको निकासबाट सयौँ मिटर टाढा सहकर्मीहरूसँगै थिए।

पानीको सतह तीव्र रूपमा बढ्दै गएपछि हिँड्नसमेत कठिन भएको अवस्थामा उनले फलामे खुड्किलो बलियोसँग समाते। खुट्टा अड्याउन टिनको पाता प्रयोग गर्दै उनीहरू एकअर्कालाई सहयोग गरेर करिब ६ घण्टासम्म बिस्तारै सुरुङको निकासतर्फ अघि बढेका थिए।

‘हामी ६ जना थियौँ र पछि सुरुङको ढोकामा अर्को एक जनालाई भेट्यौँ,’ उनले बताएका छन्।

सुरुङबाट बाहिर निस्कँदा बाढीले उनीहरूका कपडासमेत बगाइसकेको थियो। उज्यालोमा आएपछि मात्रै उनीहरूले बाढीले मच्चाएको विनाश देखे। त्रिशूली नदी भग्नावशेष, हिउँ र लेदोका कारण कालो र भयावह बनेको थियो।

बाढीका कारण त्रिशूली नदी आसपासको करिब १०० किलोमिटर क्षेत्रसम्म ठूलो क्षति पुगेको छ। सयौँ मानिसले ज्यान गुमाएका छन् भने कतिपय बस्ती नै बाढी र पहिरोमा पुरिएका छन्।

जलविद्युत् आयोजना निर्माणका क्रममा सुरुङभित्र रहेका रामचन्द्रजस्तै सयौँ कामदार अझै सम्पर्कविहीन छन्। हालसम्म करिब २७९ जना जलविद्युत् कामदारको उद्धार भएको वा आफैँ सुरुङबाट बाहिर निस्कन सफल भएको बताइएको छ। तर धेरै कामदार अझै सुरुङभित्र फसेको आशंका छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि उद्धारकर्ताले शनिबार रातिदेखि आइतबारसम्म निरन्तर प्रयास गरेका थिए। सम्भावित जीवित व्यक्तिसँग सम्पर्क स्थापित गर्ने उद्देश्यले सुरुङमा प्वाल पारेर हावा पठाउने र खानेकुरा पठाउने प्रयाससमेत गरिएको थियो।

‘माथि चढ्न नसक्नेलाई बाढीले बगायो’

बाढी आउँदा मदनसिंह बुढा माथिल्लो त्रिशूलीको दोस्रो सुरुङमा रात्रिकालीन ड्युटी सकेर फर्किएका थिए। बाहिर निस्कँदा चारैतिर पानी देखेपछि उनी डाँडातर्फ दौडिएका थिए।

‘डाँडा चट्टानी थियो र बीचबीचमा घाँसहरू उम्रिएका थिए। उकालो चढ्दा हामीले त्यही घाँसको सहारा लियौँ,’ उनले भने।

उनका अनुसार डाँडामा चढ्न नसकेका धेरैलाई बाढीले बगाएको थियो। त्यसपछि बाँचेका कामदारहरू आफ्ना सहकर्मीको खोजीमा जुटेका थिए।

मदनसिंह, रामचन्द्रसहित उद्धार गरिएका करिब १५ जना कामदार जुम्लाका हुन्। विपत्तिग्रस्त क्षेत्रबाट उद्धार भएर बाहिर निस्कँदा उनीहरूमध्ये धेरैले आफ्ना कपडा र व्यक्तिगत सामान गुमाइसकेका थिए। सुरक्षित स्थानमा पुगेपछि स्थानीयले दिएको कपडा र चप्पल लगाएर उनीहरू बसेका थिए।

उद्धार गरिएका अर्का कामदार भक्तिराम बोहराका अनुसार आयोजनाहरूमा कार्यरत कामदारमध्ये अत्यन्तै थोरै मात्र सुरक्षित रूपमा बाहिर निस्कन सकेका छन्।

उनले आफू कार्यरत र आसपासका आयोजनामा गरी करिब एक हजार जना मानिसले काम गरिरहेको अनुमान गरे। तीमध्ये करिब एक सय जना मात्रै सकुशल बाहिर निस्कन सकेको उनको भनाइ छ।

उनका ज्वाइँसमेत अझै बेपत्ता छन्। एउटै टोलीमा काम गर्ने ज्वाइँकी श्रीमती उनकी बहिनी हुन्, जो अहिले गर्भवती छिन्।

‘त्यहाँ फर्केर जान कोही चाहँदैनन्’

टुर गाइडका रूपमा काम गर्ने अमर विष्टका दर्जनौँ आफन्त र साथीहरू सोही क्षेत्रमा कार्यरत थिए। बाढीको खबर पाएलगत्तै उनी घटनास्थल पुगे।

बाढीपछि को सुरक्षित छन् र को बेपत्ता छन् भन्ने पहिचान गर्नसमेत कठिन भएको उनले बताए। उद्धार गरिएका मानिसहरूसँगै रहेका विष्टले आफू चार दिनदेखि नसुतेको बताएका छन्।

‘उहाँहरू सबै मेरै गाउँ–ठाउँका हुन्,’ उनले आँसु पुछ्दै भने।

घटनास्थलमा देखेको विनाशले आफूलाई गहिरो चोट पुगेको उनले बताए। उनका अनुसार धेरै परिवारले आफ्ना छोराछोरी र आफन्त गुमाएका छन्।

‘धेरै रात म रोएर सुत्नै सकेको छैन। मेरा दाइभाइ र दिदीबहिनीले आफ्ना छोराछोरी गुमाएका छन्। १८ वर्षका कलिला केटाकेटीहरू,’ उनले भने।

उद्धार तथा शव व्यवस्थापनका लागि सैन्य र नागरिक हेलिकप्टरहरू निरन्तर परिचालन भइरहेका छन्। विपत्तिग्रस्त क्षेत्रमा उद्धारका लागि सुरुङभित्र पुनः प्रवेश गर्नुपर्ने अवस्था झन् चुनौतीपूर्ण बनेको छ।

‘त्यहाँ फर्केर जान कोही पनि चाहँदैनन्। तर सबै जना आफ्ना साथीहरू फर्किएर आऊन् भन्ने चाहन्छन्,’ विष्टले भने।

आइतबार राति उद्धार गरिएका कामदारहरू काठमाडौं फर्किने बसमा चढेका थिए। त्यसपछि उनीहरूको जुम्लास्थित परिवारसम्म पुग्ने लामो यात्रा सुरु भएको छ।

‘हामीले आफ्ना साथीहरूलाई फर्काएर ल्याउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्‍यौँ भन्ने कुरा सबैले बुझून् भन्ने हाम्रो चाहना छ,’ विष्टले भने, ‘कम्तीमा उनीहरूको मृत शरीर भए पनि हामी ल्याउन चाहन्थ्यौँ।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि सास वा लाशको पर्खाइमा बेपत्ता परिवार

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

सम्बन्धित

आफन्तको खोजीमा विदेशबाट नेपाल आउँदैछन् परिवार, ५९१ पर्यटक अझै सम्पर्कविहीन

रसुवा बाढीपछि हिल्सा नाकाबाट फर्किए १४९ भारतीय पर्यटक

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सक्रिय हुन रास्वपा सभापति लामिछानेको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu