काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा (NASA) ले ब्रह्माण्डका सबैभन्दा रहस्यमय पक्षको खोजी गर्ने उद्देश्यले नयाँ पुस्ताको शक्तिशाली नेन्सी ग्रेस रोमन स्पेस टेलिस्कोप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।
फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट आइतबार बिहान प्रक्षेपण गरिएको रोमन स्पेस टेलिस्कोपले डार्क इनर्जी, ब्ल्याक होल तथा ब्रह्माण्डको संरचना र विकाससँग सम्बन्धित रहस्यबारे अध्ययन गर्नेछ।
नासाका अनुसार रोमनको दृश्य क्षेत्र हबल र जेम्स वेब स्पेस टेलिस्कोपको भन्दा करिब १०० गुणा ठूलो हुनेछ। यसले एकैपटक आकाशको विशाल क्षेत्रको उच्चस्तरीय अवलोकन गर्न सक्नेछ।
१० लाख माइल टाढाको कक्षीय यात्रामा
प्रक्षेपणपछि रोमन टेलिस्कोप पृथ्वीबाट करिब १० लाख माइल टाढा रहेको विशेष कक्षीय विन्दुतर्फ करिब १०० दिनको यात्रामा अघि बढेको छ।
उक्त स्थानमा पुगेपछि टेलिस्कोपले हाम्रो सौर्यमण्डलबाहिर रहेका ‘एक्सोप्ल्यानेट’ अर्थात् अन्य तारालाई परिक्रमा गर्ने ग्रहहरूको खोज, नक्सांकन तथा अध्ययन गर्नेछ।
यसबाट ब्रह्माण्डमा पृथ्वीबाहेक अन्य ग्रहमा जीवनको सम्भावनासहित ग्रह निर्माण र तारकीय प्रणालीको विकासबारे नयाँ तथ्य पत्ता लाग्ने अपेक्षा गरिएको छ।
नासाकी प्रशासक निक्की फक्सले रोमन टेलिस्कोपले ब्रह्माण्डलाई हेर्ने मानव दृष्टिकोणमै परिवर्तन ल्याउने बताएकी छन्।
‘ठ्याक्कै हामीले चाहेकै ठाउँमा पुग्यो’
प्रक्षेपणपछि आयोजित पत्रकार सम्मेलनमा रोमन टेलिस्कोपकी परियोजना व्यवस्थापक ज्याकी टाउन्सेन्डले प्रक्षेपणलाई अत्यन्त सफल भएको बताइन्।
उनका अनुसार टेलिस्कोपले अपेक्षा गरिएअनुसार आफ्नो यात्रा सुरु गरेको छ।
प्रक्षेपण भएको करिब ३० मिनेटपछि रोमन टेलिस्कोप स्पेसएक्सको रकेटबाट अलग भएको थियो। त्यसपछि यो आफ्नो निर्धारित कक्षीय विन्दुतर्फ स्वतन्त्र रूपमा अघि बढिरहेको नासाले जनाएको छ।
रोमन मिसनले वैज्ञानिकहरूलाई आकाशको विशाल क्षेत्र एकैपटक अध्ययन गर्ने नयाँ क्षमता प्रदान गर्नेछ। यसबाट ब्रह्माण्डको विस्तार, डार्क इनर्जीको प्रकृति, ब्ल्याक होल तथा सौर्यमण्डलबाहिरका ग्रहबारे अहिलेसम्म अनुत्तरित प्रश्नको जवाफ खोज्ने प्रयास गरिनेछ।
Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्