काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध हत्या वा हत्या प्रयास गरिए अमेरिकाले इरानमाथि अभूतपूर्व सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन्।
ट्रम्पले शुक्रबार राति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा इरानतर्फ लक्षित एक हजार मिसाइल पहिले नै तयारी अवस्थामा रहेकोदाबी गर्दै, आवश्यक परे त्यसलगत्तै हजारौं थप मिसाइल प्रहार गरिने चेतावनी दिएका हुन्।
उनले इरानी सरकारले विश्वका विभिन्न स्थानबाट आफूलाई हत्या गर्ने धम्की दिएको आरोप लगाउँदै त्यसको जवाफमा अमेरिकी सेनालाई एक वर्षसम्म, आवश्यक परे समय थप गर्न सकिने गरी, इरानका सबै रणनीतिक क्षेत्रहरू पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिइसकेको बताएका छन्।
ट्रम्पले आफ्नो सन्देशमा भनेका छन्, “इस्लामिक गणतन्त्र इरानतर्फ एक हजार मिसाइल लक्षित गरी तयारी अवस्थामा राखिएका छन्। यदि इरानी सरकारले संयुक्त राज्य अमेरिकाका वर्तमान राष्ट्रपतिमाथि—यस अवस्थामा ममाथि—हत्या वा हत्या प्रयास गर्यो भने तत्काल हजारौं थप मिसाइल प्रहार गरिनेछ। आदेश दिइसकिएको छ र अमेरिकी सेना एक वर्षसम्म, आवश्यक परे त्यो अवधि थप गरेर पनि, इरानका सबै क्षेत्र पूर्ण रूपमा ध्वस्त पार्न तयार, इच्छुक र सक्षम छ।”
सन्देशको अन्त्यमा उनले “Praise Be to Allah!” (अल्लाहको प्रशंसा होस्) भन्ने वाक्यांशसमेत प्रयोग गरेका छन्, जसले सामाजिक सञ्जालमा थप चर्चा उत्पन्न गरेको छ।
ट्रम्पको यो अभिव्यक्ति अमेरिका–इरान सम्बन्ध अत्यन्त तनावपूर्ण बनेका बेला आएको हो। पछिल्ला महिनाहरूमा दुवै देशबीच प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सैन्य तनाव, आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षालाई लिएर आरोप–प्रत्यारोप जारी छ।
यद्यपि ट्रम्पले आफ्नो पोस्टमा उल्लेख गरेको हत्या धम्कीबारे कुनै प्रमाण सार्वजनिक गरेका छैनन्। इरान सरकारले पनि ट्रम्पको यस दाबीबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
अमेरिकी राष्ट्रपति पदमा रहँदा ट्रम्पले सन् २०२० मा इरानका शीर्ष सैन्य कमाण्डर कासिम सुलेमानीमाथि गरिएको ड्रोन आक्रमणको आदेश दिएका थिए। त्यसयता इरानका विभिन्न अधिकारीहरूले ट्रम्प र उक्त कारबाहीमा संलग्न अमेरिकी अधिकारीहरूलाई जवाफदेही बनाउने चेतावनी दिँदै आएका छन्।
ट्रम्पको पछिल्लो चेतावनीले मध्यपूर्वमा थप तनाव बढ्ने चिन्ता व्यक्त गरिएको छ। यदि यस्तो प्रकारको सैन्य कारबाही वास्तविक रूपमा अघि बढे त्यसले क्षेत्रीय मात्र होइन, विश्वव्यापी सुरक्षा र ऊर्जा बजारमा समेत गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ।







प्रतिक्रिया दिनुहोस्