काठमाडौं – शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दशकौँयताकै शक्तिशाली मानिएको यस आँधीले पूर्वी एसियाका विभिन्न देशमा व्यापक असर पार्न थालेपछि सरकारले उच्च सतर्कता अपनाएका छन्।
प्रशान्त महासागर हुँदै अघि बढिरहेको ‘बावी’ झन्डै फ्रान्सको आकार बराबरको रहेको जनाइएको छ। आँधी ताइवानतर्फ अघि बढिरहेकाले त्यहाँको सरकारले पहाडी तथा जोखिमयुक्त क्षेत्रबाट १४ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
रोयटर्सका अनुसार जापानी अधिकारीहरूले बाढी, पहिरो र तीव्र हावाहुरीको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
शनिबार आँधी जापानको दक्षिणी साकिसिमा टापुमा पुगेपछि त्यहाँ भारी वर्षा, तीव्र हुरी तथा प्रतिकूल मौसमको अवस्था सिर्जना भएको छ। त्यसपछि आँधी ताइवानतर्फ अघि बढेको बताइएको छ।
मौसमविद्हरूका अनुसार ‘बावी’ शनिबार नै दक्षिणपूर्वी चीनको तटीय क्षेत्रमा जमिनमा ठोक्किने अनुमान गरिएको छ। यसले चीनका तटीय क्षेत्रमा पनि भारी वर्षा, बाढी र हावाहुरीको जोखिम बढाएको छ।
यसअघि यही महिनाको सुरुमा ‘बावी’ले उत्तरी प्रशान्त महासागरस्थित अमेरिकाको मारियाना टापु र गुआम क्षेत्रमा पनि प्रभाव पारेको थियो।
अधिकारीहरूले आँधी प्रभावित क्षेत्रका बासिन्दालाई सरकारी निर्देशन पालना गर्न, सुरक्षित स्थानमा बस्न तथा मौसमसम्बन्धी आधिकारिक सूचनामा निरन्तर ध्यान दिन आग्रह गरेका छन्।







प्रतिक्रिया दिनुहोस्