रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनतर्फ उत्साहजनक प्रगति भएको छ। चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पहल तथा चौरजहारी नगरपालिकाको समन्वयमा वडा नं. ३ को दमार क्षेत्रमा गरिएको डिप बोरिङ परीक्षण सफल भएको छ।
परीक्षणका क्रममा जमिनको करिब ४८ मिटर गहिराइबाट पर्याप्त मात्रामा स्वच्छ भूमिगत पानी फेला परेको संस्थाले जनाएको छ। लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका चौरजहारीवासीका लागि यो उपलब्धिले दीर्घकालीन समाधानको आधार तयार गरेको विश्वास गरिएको छ। डिप बोरिङबाट प्राप्त पानीको गुणस्तर तथा परिमाणसम्बन्धी थप प्राविधिक परीक्षणपछि नियमित वितरणको प्रक्रिया अगाडि बढाइने जनाइएको छ। परीक्षण सफल भएसँगै आवश्यक पूर्वाधार निर्माण र वितरण प्रणाली विस्तारको तयारीसमेत सुरु गरिएको छ।
चौरजहारी क्षेत्रमा वर्षौंदेखि सुख्खायाममा खानेपानीको समस्या दोहोरिँदै आएको छ। स्थानीय स्रोतहरू सुक्दै जाँदा नागरिकले टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो। नयाँ भूमिगत पानीको स्रोत फेला परेसँगै यस समस्याको स्थायी समाधान हुने अपेक्षा स्थानीयवासीले गरेका छन्। नगरपालिका र उपभोक्ता संस्थाले परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने जनाउँदै सुरक्षित, स्वच्छ र नियमित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताएका छन्। स्थानीयवासीले पनि परीक्षण सफल भएकोमा खुसी व्यक्त गर्दै योजना छिटो सम्पन्न गरी घरघरमा खानेपानी पुर्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।







प्रतिक्रिया दिनुहोस्