काठमाडौं, १२ साउन। पूर्वी पहाडी जिल्ला पाँचथरमा बर्खा सुरु भएसँगै बाढी र पहिरोको जोखिम फेरि बढेको छ। जलवायु परिवर्तनसँगै वर्षा हुने ढाँचा बदलिँदै जाँदा मानवीय क्षतिसँगै सडक, पुल, खेतीयोग्य जमिन र पशुपालन क्षेत्रमा समेत ठूलो क्षति पुगिरहेको छ।
यस वर्ष पनि फालेलुङ र याङवरक गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। फालेलुङ गाउँपालिका–५ लुङ्मादिनमा आइतबार गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन् भने सिंगो बस्ती नै जोखिममा परेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार विस्थापित परिवारलाई स्थानीय विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ। “धेरै स्थानमा जमिन भासिएको छ र थप जोखिम कायम छ,” उनले बताए।
पाँच वर्षमा ४८ जनाको ज्यान गयो
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा बाढी र पहिरोका कारण ४८ जनाले ज्यान गुमाएका छन् भने ९ जना अझै बेपत्ता छन्।
सबैभन्दा ठूलो क्षति आर्थिक वर्ष २०७८/७९ मा भएको थियो। त्यस वर्ष मात्रै ३५ जनाको मृत्यु भएको थियो भने मिक्लाजुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको थियो। सोही वर्ष तीन परिवार विस्थापित भएका थिए भने १५ जना घाइते भएका थिए।
त्यसपछि आर्थिक वर्ष २०७९/८० मा तीन, २०८१/८२ मा आठ र २०८२/८३ मा दुई जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
पाँच वर्षको अवधिमा बाढी–पहिरोबाट ८८९ परिवार प्रभावित भएका छन्। तीमध्ये ३७६ परिवार घर छाड्न बाध्य भई विस्थापित भएका छन्।
सडक, पुल, खेती र पशुपालनमा निरन्तर क्षति
बाढी–पहिरोले जिल्लाको भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुर्याउँदै आएको छ। २०८१ सालमा हेवाखोलामा रहेको मेची राजमार्गको मोटरेबल पुल बाढीले बगाएको थियो। त्यसपछि निर्माण गरिएको बेलिब्रिज पनि २०८२ सालमा पुनः बाढीले बगाएपछि हाल त्यहाँ मोडुलर पुल जडान गरिएको छ।
मेची राजमार्गका विभिन्न खण्डमा पटक–पटक क्षति पुगेको छ भने पछिल्ला पाँच वर्षमा मोटरेबल र झोलुङ्गे गरी ३४ वटा पुलमा क्षति पुगेको तथ्यांक छ। हेवाखोलाका अधिकांश मोटरेबल पुल बाढीले बगाएको छ। यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न स्थानका पुलहरू पनि बाढीको उच्च जोखिममा परेका छन्।
कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी केशरबहादुर मरातीका अनुसार पछिल्ला वर्षहरूमा विशेषगरी खेतीयोग्य जमिन र अलैँची बारीमा ठूलो क्षति पुगेको छ। उनका अनुसार पाँच वर्षमा बाढी–पहिरोका कारण दुई हजार ३९८ पशुचौपाया मरेका छन्।
जलवायु परिवर्तनका कारण वर्षा हुने स्वरूप परिवर्तन हुँदै जाँदा पाँचथरमा बाढी–पहिरोको जोखिम र क्षति दुवै बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ। तर जोखिम न्यूनीकरणका लागि आवश्यक दीर्घकालीन पूर्वतयारी, सुरक्षित बस्ती व्यवस्थापन र दिगो पूर्वाधार निर्माणमा अझै पर्याप्त प्रगति हुन सकेको छैन।







प्रतिक्रिया दिनुहोस्