काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ। घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘नयाँ प्रकृतिको सुरक्षा चुनौती’ भएको बताएका छन्। मंगलबार राति रनवेनजिक शंकास्पद ड्रोन देखिएपछि विमानस्थलका दुवै रनवे केही समयका लागि बन्द गरिएका थिए, जसका कारण केही मालवाहक तथा एक यात्रुवाहक विमानलाई वैकल्पिक विमानस्थलतर्फ मोड्नुपरेको थियो।
सुरक्षा निकायले बम डिस्पोजल रोबोट प्रयोग गरी ड्रोनमा जडित विस्फोटक उपकरण सुरक्षित रूपमा निष्क्रिय पारेको जनाएको छ। घटनाको अनुसन्धान जारी रहेकाले ड्रोन कसले, किन र कसरी विमानस्थलसम्म पुर्यायो भन्नेबारे अहिले नै निष्कर्षमा पुग्न नसकिने अधिकारीहरूको भनाइ छ। जर्मनीका सुरक्षा निकायले सम्भावित दोस्रो ड्रोनको खोजीसमेत जारी राखेका छन्।
युरोपकै प्रमुख कार्गो केन्द्रमध्ये एक मानिने लाइपजिग–हाले विमानस्थलमा युक्रेनी एन्टोनोभ मालवाहक विमानको नियमित आवागमन हुने गर्छ। घटनाबारे नाटोले पनि जानकारी लिएको जनाएको छ भने युरोपमा पछिल्ला वर्षहरूमा बढ्दै गएका हाइब्रिड सुरक्षा चुनौतीसँग यस घटनालाई जोडेर अनुसन्धान अघि बढाइएको छ। अधिकारीहरूले घटनाबाट यात्रु वा कर्मचारीको सुरक्षामा प्रत्यक्ष क्षति नभएको र केही समयपछि विमानस्थलको उडान सेवा पुनः सञ्चालनमा आएको बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्