काठमाडौं । मानवले अन्तरिक्ष अन्वेषणमा हासिल गरेको उपलब्धिसँगै चन्द्रमामा मानव निर्मित फोहोरको मात्रा पनि उल्लेखनीय रूपमा बढेको छ। पछिल्लो तथ्याङ्कअनुसार चन्द्रमाको सतहमा करिब दुई लाख किलोग्राम मानव निर्मित फोहोर थुप्रिएको छ, जुन विगत छ दशकभन्दा बढी समयदेखि सञ्चालन गरिएका विभिन्न अन्तरिक्ष अभियानको परिणाम हो।
बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार चन्द्रमामा अवतरण गरिएका वा दुर्घटनाग्रस्त भएका ७० भन्दा बढी अन्तरिक्ष यान तथा तिनका भग्नावशेष अझै पनि सतहमै रहेका छन्। यसबाहेक अन्तरिक्ष यात्रीहरूले प्रयोग गरेका पाँच वटा रोभर, वैज्ञानिक उपकरण तथा विभिन्न सामग्री पनि त्यहीँ छाडिएका छन्।
अन्तरिक्ष अभियानका क्रममा पृथ्वी फर्किने यानको तौल कम गरी इन्धन बचत गर्न अन्तरिक्ष यात्रीहरूले मानव मलमूत्र, बान्ता तथा अन्य फोहोरसहितका सामग्री चन्द्रमामै छाडेका थिए। वैज्ञानिकका अनुसार हाल चन्द्रमामा मानव मलमूत्र भरिएका ९६ वटा सिल गरिएका झोला रहेका छन्।
चन्द्रमामा रहेका अन्य वस्तुमा अमेरिकाको राष्ट्रिय झन्डा, अन्तरिक्षयात्रीका पुराना बुट र जुत्ता, विभिन्न औजार, अन्तरिक्षयात्री चार्ल्स ड्युकले छोडेको आफ्नो परिवारको तस्बिर, दुई वटा गल्फ बल तथा वैज्ञानिक प्रयोगमा प्रयोग गरिएको फलामको हथौडा र बाजको प्वाँखसमेत रहेका छन्।
वैज्ञानिकहरूका अनुसार चन्द्रमामा पृथ्वीजस्तो वायुमण्डल, हावा, पानी वा सूक्ष्मजीव (ब्याक्टेरिया) नभएकाले त्यहाँ रहेका फोहोर र जैविक पदार्थ सड्ने प्रक्रिया हुँदैन। त्यसैले यी सामग्री लाखौँ वर्षसम्म लगभग उस्तै अवस्थामा रहन सक्ने अनुमान गरिएको छ।
यसबीच अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्रक्षेपण गरेको रकेटको करिब चार हजार किलोग्राम तौलको एउटा भाग चन्द्रमामा उच्च गतिमा ठोक्किएको घटनापछि चन्द्रमामा थुप्रिँदै गएको मानव निर्मित फोहोरबारे पुनः विश्वव्यापी चासो बढेको छ।
चन्द्रमामा फोहोर जम्मा हुने क्रम सन् १९५९ मा तत्कालीन सोभियत संघको लुना–२ अन्तरिक्षयान चन्द्रमामा पुगेसँगै सुरु भएको मानिन्छ। त्यसयता विभिन्न मुलुकका अन्तरिक्ष अभियानले त्यहाँ थप सामग्री छाड्दै आएका छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाको एपोलो कार्यक्रम अन्तर्गत भएका छ वटा सफल चन्द्र अवतरणबाट मात्रै ७९६ वटा वस्तु चन्द्रमामै छाडिएको तथ्याङ्क छ।
भविष्यमा चन्द्रमा र अन्य ग्रहमा मानव गतिविधि बढ्ने तयारी भइरहेका बेला अन्तरिक्ष फोहोर व्यवस्थापन नयाँ चुनौतीका रूपमा देखा परेको छ। यही कारण नासासहित विभिन्न अन्तरिक्ष निकायले चन्द्रमामा रहेका फोहोरलाई पुनः प्रयोग गर्न सकिने प्रविधिको विकास तथा दिगो अन्तरिक्ष अन्वेषणका उपायबारे अनुसन्धान अघि बढाइरहेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्