सियोल । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गतिविधि पुनः सुरु गरेको केही दिनपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।
उत्तर कोरियाबाट हुन सक्ने सम्भावित सैन्य खतराविरुद्ध आफ्नो संयुक्त प्रतिरक्षा क्षमता र तयारी बलियो बनाउने उद्देश्यले दक्षिण कोरिया र अमेरिकाले आगामी सोमबारदेखि वार्षिक सैन्य अभ्यास ‘उल्ची फ्रिडम सिल्ड’ सञ्चालन गर्न लागेका हुन्।
दक्षिण कोरियाली सेनाका अनुसार अभ्यास ११ दिनसम्म सञ्चालन हुनेछ। यसमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुनेछन्।
दक्षिण कोरियाली सेनाका प्रवक्ता जाङ डो–योङले अभ्यासको स्वरूप विगतका वर्षमा सञ्चालन हुँदै आएको अभ्याससँग धेरै हदसम्म समान रहने बताएका छन्।
अमेरिकी सेनाका प्रवक्ता रायन डोनाल्डले पछिल्ला विश्वव्यापी द्वन्द्वबाट प्राप्त अनुभव तथा सम्भावित र वास्तविक खतरालाई ध्यानमा राखेर यसपटकको अभ्यास सञ्चालन गरिने बताएका छन्।
उनका अनुसार संयुक्त तथा बहुक्षेत्रीय सैन्य कारबाहीको अभ्यासमार्फत दक्षिण कोरिया–अमेरिका गठबन्धनको तयारी, समन्वय र सैन्य क्षमता थप सुदृढ गरिनेछ।
उत्तर कोरियाले रुस–युक्रेन युद्धमा आफ्ना सैनिक पठाएको विषयलाई समेत अमेरिकी पक्षले अभ्यासको तयारीमा ध्यान दिएको छ।
डोनाल्डका अनुसार युक्रेन युद्धबाट प्राप्त अनुभव बोकेर उत्तर कोरियाली सैनिक स्वदेश फर्किएका छन्। त्यस्ता अनुभवले उत्तर कोरियाली सेनाको क्षमता तथा रणनीतिमा परिवर्तन ल्याउन सक्ने भएकाले संयुक्त अभ्यासमा त्यसलाई समेत ध्यानमा राखिनेछ।
बहुआयामिक सैन्य अभ्यास
‘उल्ची फ्रिडम सिल्ड’ दक्षिण कोरिया र अमेरिकी सेनाले प्रत्येक वर्ष सञ्चालन गर्ने दुई प्रमुख संयुक्त सैन्य अभ्यासमध्ये एक हो। अर्को प्रमुख संयुक्त अभ्यास वसन्त ऋतुमा सञ्चालन गरिन्छ।
अमेरिकी सेनाका अनुसार ‘उल्ची फ्रिडम सिल्ड’मा प्रत्यक्ष सैन्य तालिमसँगै भर्चुअल, कम्प्युटरमा आधारित तथा स्थलगत अभ्याससमेत समावेश हुन्छन्।
दक्षिण कोरिया र अमेरिकाले यस्ता अभ्यासलाई रक्षात्मक प्रकृतिको बताउँदै आएका छन्। तर उत्तर कोरियाले भने यी ठूला संयुक्त सैन्य अभ्यासलाई आफूविरुद्धको आक्रमणको तयारीका रूपमा व्याख्या गर्दै आएको छ।
यसपटक पनि उत्तर कोरियाले अभ्यासबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।
संयुक्त सैन्य अभ्यासको घोषणा उत्तर कोरियाले हालै छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि भएको हो।
दक्षिण कोरिया, अमेरिका र जापानले बिहीबार उत्तर कोरियाबाट छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएका थिए।
जुनको अन्त्ययता उत्तर कोरियाले गरेको यो पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण भएको बताइएको छ। प्रक्षेपण गरिएको क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटबाट समुद्री क्षेत्रमा खसेको थियो।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्तावहरूले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएका छन्।
दक्षिण कोरिया र जापानले उक्त प्रक्षेपणको निन्दा गर्दै यसलाई क्षेत्रीय शान्ति तथा सुरक्षाका लागि खतरा भएको बताएका छन्। अमेरिकी प्यासिफिक कमान्डले पनि अमेरिका आफ्ना भूभाग तथा क्षेत्रीय सहयोगी राष्ट्रहरूको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ।
उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमप्रति चिन्ता
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको उच्चस्तरीय कूटनीतिक प्रयास असफलभएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमताको विकासलाई थप तीव्रता दिँदै आएको छ।
दक्षिण कोरिया, अमेरिका तथा अन्य देशले उत्तर कोरियाले रुस–युक्रेन युद्धमा रुसलाई सैनिक तथा हतियार सहयोग गरेको विषयमा समेत चिन्ता व्यक्त गर्दै आएका छन्।
उत्तर कोरियाले रुसबाट प्राप्त गर्न सक्ने सम्भावित सैन्य प्रविधि तथा युक्रेन युद्धमा आफ्ना सैनिकको सहभागिताबाट प्राप्त युद्ध अनुभवले उसको आणविक, क्षेप्यास्त्र तथा सैन्य क्षमतामा थप सुधार आउन सक्ने विज्ञहरूको आकलन छ।
यस पृष्ठभूमिमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासले कोरियाली प्रायद्वीपमा सैन्य तयारी बढाउने मात्र नभई उत्तर कोरिया र अमेरिका–दक्षिण कोरिया गठबन्धनबीचको तनावसमेत थप चर्किन सक्ने संकेत गरेको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्