काठमाडौं । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको यातायात क्षेत्रलाई दिगो र भरपर्दो बनाउन स्थिर सरकारी नीति तथा आधुनिक पूर्वाधार आवश्यक रहेको बताएकी छन्।
दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन गर्दै अध्यक्ष वैद्यले प्रविधिको तीव्र विकाससँगै सवारीसाधनको बजारमा ठूलो परिवर्तन भइरहेको बताइन्।
उनका अनुसार अहिले ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनसँगै विभिन्न प्रकारका हाइब्रिड तथा नयाँ प्रविधिका सवारीसाधन नेपालमा भित्रिरहेका छन्। यस्तो अवस्थामा सरकार र निजी क्षेत्रले नयाँ प्रविधिबारे पर्याप्त अध्ययन गरी सोहीअनुसार कर प्रणाली, सवारी वर्गीकरण र नियमनका स्पष्ट व्यवस्था गर्नुपर्ने उनले बताइन्।
नाइमाले यसका लागि आवश्यक प्राविधिक सहयोग र विज्ञता उपलब्ध गराउन तयार रहेको अध्यक्ष वैद्यले स्पष्ट पारिन्।
उनले ‘सबैका लागि गतिशीलता’लाई नाइमाको मुख्य लक्ष्यका रूपमा प्रस्तुत गर्दै यातायातलाई केवल सवारीसाधनमा सीमित गर्न नहुने बताइन्। उनका अनुसार गतिशीलता शिक्षा, स्वास्थ्य, रोजगारी तथा बजारसम्मको पहुँचसँग प्रत्यक्ष जोडिएको विषय हो।
त्यसैले यातायात क्षेत्रलाई विलासिताको वस्तु वा सरकारको राजस्वको स्रोतका रूपमा मात्र नभई राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष वैद्यले नेपालमा सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम, भरपर्दो चार्जिङ पूर्वाधार, आधुनिक सवारी परीक्षण केन्द्र र दक्ष जनशक्तिको आवश्यकता औँल्याइन्। सवारीसाधनको संख्या बढ्दै जाँदा सडक सुरक्षालाई पनि समान प्राथमिकता दिनुपर्ने उनले बताइन्।
लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले स्थिर तथा दीर्घकालीन नीति अवलम्बन गर्नुपर्नेमा पनि उनले जोड दिइन्। नीतिमा हुने पटक–पटकको परिवर्तन र अस्पष्टताले व्यवसायीमा अन्योल सिर्जना गर्ने उनको भनाइ थियो।
दशकौँदेखि नेपालमा लगानी र रोजगारी सिर्जना गर्दै आएका अटोमोबाइल कम्पनीलाई प्रोत्साहन गर्न तथा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको अध्यक्ष वैद्यले बताइन्।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्