काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र वरिष्ठ नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ। पार्टीको केन्द्रीय समिति बैठकअघि दुई नेताबीच भेटवार्ता भएको हो।
कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच पछिल्लो समय बढ्दै गएको मतभेदका बीच भएको भेटवार्तालाई पार्टी एकताका लागि संवादको प्रयासका रूपमा हेरिएको छ। भेटमा नेता कोइरालाले पार्टीभित्र देखिएको बेमेल अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न सभापति थापालाई आग्रह गरेका थिए।
जवाफमा सभापति थापाले पनि आफूहरू एकताबद्ध कांग्रेस निर्माणकै पक्षमा रहेको बताएका थिए। दुई नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा छलफल भएको बताइएको छ।
सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी १५औँ महाधिवेशनको तयारी, महाधिवेशन निर्देशिका, सदस्यता अद्यावधिकलगायत विषयमा छलफल भइरहेको छ। बैठकमा पार्टीको विधान मस्यौदा समिति गठन गर्ने विषयसमेत छलफलमा रहेको जनाइएको छ।
यसैबीच, संस्थापनइतर पक्षले अदालतमा विचाराधीन मुद्दालाई कारण देखाउँदै महाधिवेशनको प्रक्रिया तत्काल अघि नबढाउन संस्थापन पक्षलाई आग्रह गर्दै पत्राचार गरेको छ।
कांग्रेस संस्थापनइतर पक्षले भदौ २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता तथा नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा पुनरावलोकनका लागि अनुमति दिएपछि इतर पक्षले आफ्नो गतिविधि तीव्र बनाएको हो।
उक्त राष्ट्रिय भेलामा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पनि सहभागी हुने र सम्बोधन गर्ने तयारी रहेको बताइएको छ। पछिल्लो समय पार्टीभित्र बढिरहेको विवादका बीच थापा र कोइरालाबीच भएको भेटवार्तालाई कांग्रेसको आन्तरिक एकताका लागि महत्वपूर्ण संवादका रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्