रुकुमपश्चिम । लगातारको वर्षाका कारण आएको पहिरोले मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्व हुँदै बागलुङ जाने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुमपूर्वको भूमे गाउँपालिका–५ स्थित धौलापहिरा र वडा नं. ४ को काँडाबगरलगायत क्षेत्रमा पहिरो खसेपछि राजमार्ग ठप्प भएको हो । पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सडक खुलाउन बिहानैदेखि सुरक्षाकर्मी, स्थानीय सरकार र मध्यपहाडी राजमार्ग आयोजना कार्यालयको टोली परिचालन गरिएको छ । सुरक्षा निकायका प्रमुखसहितको टोली पहिरो गएको क्षेत्रमा पुगेर सडक खुलाउने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र, स्थानीय तह र मध्यपहाडी राजमार्ग आयोजना कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको प्रजिअ राईले बताउनुभयो ।
उहाँका अनुसार बिहीबार साँझ पहिरोका कारण सडकमा अलपत्र परेका ३८ जना यात्रुलाई प्रहरीको गाडीमार्फत गन्तव्यतर्फ पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमानन्द पाण्डेका अनुसार पहिरो गएको स्थानको माथिल्लो भागबाट गेगरसहितको पहिरो निरन्तर खसिरहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्न सक्नेछ ।
उहाँले मध्यपहाडी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ ।
लगातारको वर्षापछि पहिरो
लगातार भइरहेको वर्षाका कारण भूमे गाउँपालिका–५ र वडा नं. ४ आसपासका क्षेत्रमा पहिरो गएको हो । पहिरोले सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।
सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय सरकार र मध्यपहाडी राजमार्ग आयोजना कार्यालयको संयुक्त प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्