काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाका विभिन्न स्थानमा फेला परेका पाँच शवमध्ये तीन शव रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोमा पुरिएका व्यक्तिहरूको भएको पुष्टि भएको छ।
रोल्पाको थबाङ–५ कोटलबारामा बुधबार राति गएको पहिरोमा परी १० जना बेपत्ता भएका थिए। पहिरोमा परी ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको थियो। उहाँको शव बुधबार नै फेला परेको थियो।
पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८० वर्षीय अजम्बर पुन मगर रहेका छन्।
त्यस्तै, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर पनि पहिरोमा बेपत्ता भएका थिए।
प्युठानको माडी खोलामा बिहीबार फेला परेका पाँच शवमध्ये तीन जनाको शव रोल्पाको पहिरोमा बेपत्ता भएकाहरूको भएको पुष्टि भएको प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले जानकारी दिनुभयो।
दुई शवको सनाखत हुन बाँकी
डीएसपी अधिकारीका अनुसार माडी खोलामा भेटिएका पाँच शवमध्ये दुई शवको भने अझै सनाखत हुन बाँकी छ।
“पाँचवटा शवमध्ये तीन शव रोल्पा पहिरोकै रहेको पुष्टि भएको छ। अन्य दुई शवको सनाखत हुन बाँकी छ,” उहाँले भन्नुभयो।
प्रहरीले बाँकी शवको पहिचान तथा रोल्पा पहिरोमा बेपत्ता व्यक्तिहरूको अवस्थाबारे थप अनुसन्धान तथा सनाखत प्रक्रिया अघि बढाएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्