काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको समितिका सभापति आशिष गजुरेलले जानकारी दिए।
समितिले मधेस प्रदेश तथा तराई क्षेत्रमा स्यालो ट्युबेलबाट खानेपानी उपलब्ध हुन छाडेका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गरी आपूर्ति सहज बनाउन निर्देशन दिएको छ। त्यस्तै, मधेस प्रदेशमा अधुरा रहेका १७६ वटा ओभरहेड ट्यांकीसम्बन्धी आयोजना आवश्यक बजेट व्यवस्थापन गरी शीघ्र सम्पन्न गर्न पनि सरकारलाई भनिएको छ।
काठमाडौं उपत्यकाको खानेपानीमा जोड
समितिले काठमाडौं उपत्यकाको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि मेलम्ची, वाग्मतीलगायत पानीका स्रोतको संरक्षण, विकास तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ।
राष्ट्रिय निकुञ्ज तथा अन्य सम्बन्धित निकायसँगको समन्वयमा पानी ल्याउने क्रममा देखिएका समस्या समाधान गरी दिगो खानेपानी आपूर्ति सुनिश्चित गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
सुनकोसी–मरिणबाट तराईमा खानेपानी
समितिले सुनकोसी–मरिण डाइभर्सनबाट मधेस तथा तराई क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानी उपलब्ध गराउन सकिने सम्भावनाबारे चालु आर्थिक वर्षभित्रै सम्भाव्यता अध्ययन सम्पन्न गर्न निर्देशन दिएको छ।
अध्ययनपछि लागत, स्रोत, प्रविधि तथा कार्यान्वयनको स्पष्ट खाका तयार गरी आयोजना अघि बढाउन समितिले सरकारलाई भनेको छ।
त्यसैगरी, देशका सम्पूर्ण बस्तीलाई समेटेर पानीका मुहान पहिचान तथा संरक्षण गर्ने र ती मुहानबाट आसपासका बस्तीमा आवश्यक खानेपानी पुर्याउने गरी संघीय सरकारका सम्बन्धित मन्त्रालयले बृहत् गुरुयोजना तयार गर्नुपर्ने समितिको निष्कर्ष छ।
गुरुयोजना कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहलाई समेत जिम्मेवार बनाउन समितिले सरकारलाई निर्देशन दिएको छ।
पानीको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड
सभापति गजुरेलले नागरिकलाई स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। उनले तत्काल समस्या भएका क्षेत्रमा वैकल्पिक स्रोतको व्यवस्था गर्नेदेखि दीर्घकालीन रूपमा दिगो खानेपानी प्रणाली विकास गर्नेसम्मका योजना एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्