सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाका विभिन्न पालिकाबाट हराएका २६ जनामध्ये २० जनालाई सकुशल फेला पारेको छ।
प्रहरीका अनुसार साउन १ गतेदेखि २३ गतेसम्म हराएको भन्दै परेका निवेदनका आधारमा खोजी गर्दा २० जनालाई फेला पारिएको हो। अझै दुई महिला र चार बालिकासहित ६ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।
प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार उक्त अवधिमा १२ महिला, १२ बालिका, एक बालक र एक पुरुष गरी २६ जना हराएका थिए। फेला पर्नेमा १० महिला, आठ बालिका, एक बालक र एक पुरुष छन्।
प्रहरीका अनुसार फेला पारिएका अधिकांश व्यक्ति सीमावर्ती भारतीय बजार क्षेत्रबाट सकुशल उद्धार गरिएको हो।
भारतीय सुरक्षा निकायसँग समन्वय
अझै बेपत्ता रहेका व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले उनीहरूको अवस्था पत्ता लगाउन प्रहरी टोली सक्रिय रूपमा परिचालन गरिएको बताए।
उनका अनुसार जिल्ला प्रहरी तथा मातहतका प्रहरी कार्यालयसँगै सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूसँग समेत समन्वय गरी बेपत्ताको खोजी तीव्र पारिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्