काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि स्वदेश फर्किँदा विमानस्थलमा भएको भव्य स्वागतले सकारात्मक राजनीतिक सन्देश दिएको बताएका छन् ।
देउवालाई बिहीबार कांग्रेसका इतर पक्षका नेताहरूले बाजागाजासहित विमानस्थलमा स्वागत गरेका थिए । स्वागतपछि प्रतिक्रिया दिँदै बस्नेतले पछिल्लो एक वर्षदेखि बिथोलिएको नेपालको राजनीति अब क्रमशः ‘कोर्स करेक्सन’को दिशामा अघि बढ्नुपर्ने जनचाहना बलियो हुँदै गएको बताएका हुन् ।
उनका अनुसार देउवाको स्वागतमा देखिएको सहभागिताले राजनीतिमा स्थायित्व, लोकतान्त्रिक मूल्य र अनुभवी नेतृत्वप्रतिको जनविश्वास अझै कायम रहेको देखाएको छ ।
बस्नेतले नेपालको राजनीति सही दिशामा फर्किनुपर्ने आवश्यकता रहेको बताउँदै देउवाको स्वागतमा देखिएको जनसहभागितालाई त्यसतर्फको सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन् ।
बाजागाजासहित स्वागत
साढे पाँच महिनापछि स्वदेश फर्किएका देउवालाई विमानस्थलमा कांग्रेसका विभिन्न पक्षका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
इतर पक्षका शीर्ष नेताहरूको सहभागितामा बाजागाजासहित गरिएको स्वागत कार्यक्रममा उल्लेख्य संख्यामा नेता–कार्यकर्ता उपस्थित भएका थिए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्