काठमाडौं । युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपालीको शव नेपाल ल्याइने भएको छ। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ पाल्वाका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२० बागबजारका २५ वर्षीय निश्चल तामाङको शव नेपाल ल्याउन लागिएको हो।
अगस्ट २ तारिख रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा चार नेपाली परेका थिए। दुर्घटनामा शान्तकुमार र निश्चलको घटनास्थलमै मृत्यु भएको थियो। कञ्चनपुरका अनिलकुमार दमाई र डडेलधुराका महेश नाथ भने घाइते भएका छन्।
इस्तानबुल हुँदै काठमाडौं ल्याइने
रोमानियामा भएको घटनापछि जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो। रोमानियासमेत आफ्नो कार्यक्षेत्रमा पर्ने दूतावाससँगको समन्वयमा शव नेपाल ल्याउने व्यवस्था मिलाइएको हो।
पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार शव अगस्ट १४ मा रोमानियाको हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्समार्फत इस्तानबुल हुँदै अगस्ट १६ को बिहान काठमाडौं आइपुग्नेछ।
शव नेपाल पठाउने तयारीबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको छ।
परिवारले गरे सहयोगका लागि आभार
मृतक निश्चल तामाङका ठुलो बुवा डम्बरबहादुर तामाङले शव नेपाल ल्याउन सहयोग गर्ने नेपाल सरकार, नेपाली दूतावास तथा रोमानियाका पूर्ववाणिज्यदूतलगायत सबैप्रति आभार व्यक्त गरेका छन्।
उनले सञ्चारमाध्यमबाट घटनाबारे समाचार सार्वजनिक भएपछि सरकारले छिटो चासो दिएको र जिम्मेवारी पूरा गरेको अनुभूति भएको बताए।
“अकल्पनीय घटना भयो, तर सञ्चार माध्यमको समाचार प्रवाहले गर्दा सरकारले छिटो चासो लिएर जिम्मेवारी पूरा गरेको महसुस भएको छ।”
रोजगारीका लागि रोमानिया पुगेका थिए
शान्तकुमार रोजगारीका लागि २८ अक्टोबर २०२४ मा र निश्चल २७ मे २०२३ मा रोमानिया पुगेका थिए। उनीहरू सेम डे सोलुसन कम्पनीमार्फत टीआरके एजेन्सीबाट कुरिअर वेयरहाउसमा काम गर्दै आएका थिए।
शान्तकुमारका श्रीमती, १० वर्षीया छोरी र २ वर्षीय छोरा छन्। निश्चल भने अविवाहित थिए।
रोमानिया जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको कार्यक्षेत्रमा पर्छ। त्यहाँ ५० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको बताइएको छ। नेपालले भने हालसम्म रोमानियामा छुट्टै कूटनीतिक नियोग स्थापना गरेको छैन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्