स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलामा आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। बिहीबार राति परेको अविरल वर्षापछि खोलामा आएको बाढीले ग ११ प ८१८३ नम्बरको मोटरसाइकल र त्यसमा सवार दुई जनालाई बगाएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनामा परेका पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समीप शाहीलाई सकुशल उद्धार गरिएको छ।
मोटरसाइकल चालक पुतलीबजार–३ बाडखोलाका २१ वर्षीय सलिम मगर भने बेपत्ता छन्।
घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी मगरको खोजी तथा उद्धार थालिएको छ। गएरातिदेखि नै खोजी जारी रहे पनि शुक्रबार बिहानसम्म मगर फेला परेका छैनन्।
एक सय मिटर तल मोटरसाइकल भेटियो
खोजीका क्रममा दुर्घटनास्थलबाट करिब एक सय मिटर तल खोलामा बगेको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ। तर, चालक मगरको अवस्था अझै अज्ञात छ।
खोलामा पानीको बहाव उच्च रहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। उद्धार टोलीले खोलाको आसपासका क्षेत्रमा खोजीलाई निरन्तरता दिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्