काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई विधि र पद्धतिअनुसार आत्मसात गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले परिवर्तन र युवा सहभागितालाई विधि तथा प्रक्रियाबाट अघि बढाउनुपर्ने बताए।
पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उनले देउवाबाट पार्टीका सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताए।
विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्दा पार्टीभित्र गम्भीर प्रश्न उठ्ने शर्माको भनाइ थियो। देशको कार्यकारी प्रमुखका रूपमा युवालाई स्वीकार गर्न सक्नेले पार्टी नेतृत्वमा पनि सोही उमेर समूहका व्यक्तिलाई स्वीकार गर्न उदार हुनुपर्ने उनले बताए।
‘नेपाली कांग्रेस अहिले विधि र प्रक्रियामार्फत परिवर्तनको अध्यायमा छ,’ शर्माले भने, ‘३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको इतिहासलाई आत्मसात गरेका छौँ भने ५० वर्ष हाराहारीको युवाले पार्टीको नेतृत्व गर्ने कुरालाई पनि सहज रूपमा स्वीकार्नुपर्छ।’
देउवाले आफ्नो लिखित अभिव्यक्तिमार्फत परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै शर्माले त्यसलाई अहिलेको सम्मेलनको मुख्य विषय बनाउनुपर्ने बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्