काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनबाट गगन थापालाई ७१ प्रतिशत मतसहित सभापति बनाउने दाबी गरेका छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै शर्माले पार्टीभित्रको असन्तुष्टि संवादबाट समाधान गर्न संस्थापनइतर समूहलाई आग्रह गरे। संवाद वा अदालतको प्रक्रियाबाट विवाद टुंगिए पनि कांग्रेसको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने उनले बताए।
“संवाद वा अदालती प्रक्रियाबाट टुंगो लागे तापनि १५औँ महाधिवेशन मंसिरभन्दा अघि गर्नुपर्नेछ। प्रतिकूलता चिरेर जानुपरे गगन थापाको नाममा ५१ होइन, ७१ प्रतिशत मत ल्याएर सभापति बनाएर कांग्रेसलाई नयाँ ऊर्जाका साथ अघि बढाउँछौँ,” शर्माले भने।
असन्तुष्ट पक्षलाई दुई विकल्प
शर्माले संस्थापनइतर समूहलाई पार्टीभित्रको विवाद समाधानका लागि दुई विकल्पमा छलफल गर्न सुझाव दिए।
उनले यसअघि पठाइएको सातबुँदे प्रस्तावमाथि खुला छलफल गर्ने वा संवादको प्रक्रिया छाडेर ‘निन्दा सम्मेलन भाग–२’ आयोजना गर्ने विकल्प रहेको बताए।
“त्यो सात बुँदामा हटाउनुपर्ने, घटाउनुपर्ने वा थप्नुपर्ने के हो, त्यसमा छलफल गर्नुहोस्। यो विषयमा खुला संवाद होस्,” शर्माले भने।
उनले संवादबाट समाधान खोज्ने प्रयास नगरी अघि बढे संस्थापनइतर समूहले सभापतिप्रति थप आलोचनात्मक अभिव्यक्ति दिने र निर्वाचन आयोग तथा अदालतको निर्णयको प्रतीक्षा गर्ने अवस्था आउन सक्ने बताए।
मंसिरअघि महाधिवेशन गर्नुपर्ने
शर्माले कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयभित्रै गर्नुपर्ने बताए। उनका अनुसार आगामी मंसिरपछि महाधिवेशन सार्ने अवस्था नरहेको भन्दै असोजभित्रै महाधिवेशन सम्पन्न गर्ने तयारी गर्नुपर्ने आवश्यकता छ।
उनले पार्टीभित्र देखिएको विवादलाई लामो समयसम्म तन्काउनुभन्दा संवाद र कानुनी प्रक्रियाबाट छिटो टुंगो लगाएर महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताए।
शर्माले प्रतिकूल परिस्थिति आए पनि महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व र ऊर्जाका साथ अघि बढाउने दाबी गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्