काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध परेको उजुरीकै आधारमा निष्कर्षमा नपुग्न सांसदहरूलाई आग्रह गरेका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतको व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले उजुरीमाथि छलफल गर्दा सांसदहरूले न्यायाधीशको भूमिका निर्वाह गर्न नहुने बताए।
“उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन,” उनले भने, “आरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न पाइँदैन।”
आरोप लाग्दैमा कसैलाई दोषी ठहर गर्न नहुने भन्दै गुरुङले आरोप पुष्टि नभएसम्म कुनै निष्कर्षमा पुग्न नहुने बताए।
“आरोप पुष्टि नभएसम्म करार गर्न हुँदैन,” उनले भने, “यो गम्भीर विषय थियो–कहाँ गएर भनौँजस्तो लागेको थियो।”
गृह मन्त्रालयले आईजीपी कार्कीसहित प्रहरीका सबै कर्मचारीले सरकारको निर्देशनअनुसार काम गरिरहेको जनाएको पनि उनले बताए। कसैले पनि आरोप लगाउन सक्ने भएकाले त्यसको सत्यता र प्रमाणका आधारमा मात्रै निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ।
आईजीपीविरुद्ध उजुरी
प्रहरी महानिरीक्षक कार्कीको कार्यशैली र भूमिकामाथि प्रश्न उठाउँदै व्यवस्थापन समितिमा उजुरी परेको थियो। उजुरीमाथि छलफलका क्रममा सांसदहरूले आईजीपी कार्कीको कार्यशैलीबारे प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले उनको बचाउ गरेका हुन्।
गुरुङले उजुरीमाथि आवश्यक छानबिन र प्रक्रिया अघि बढाउन सकिने भए पनि प्रमाणबिना आरोपलाई नै निष्कर्षको आधार बनाउन नहुने बताए।
उनले राज्यका जिम्मेवार निकायले कुनै व्यक्तिमाथि लागेको आरोपलाई गम्भीरतापूर्वक हेर्नुपर्ने तर आरोप पुष्टि हुनुअघि नै दोषी ठहर गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्