काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेसको राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।
शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा देउवाले भेलाको शुभारम्भ गरेका हुन्। तीन दिनसम्म चल्ने भेलामा कांग्रेसको संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन्।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा उद्घाटन समारोह आयोजना गरिएको हो। कार्यक्रममा देउवासहित कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ।
भेलामा कांग्रेसको वर्तमान राजनीतिक अवस्था, पार्टीभित्रको संगठनात्मक संरचना, नेतृत्व तथा आगामी राजनीतिक कार्यदिशालगायत विषयमा छलफल हुने आयोजकहरूले बताएका छन्।
संस्थापनइतर पक्षका नेता तथा कार्यकर्तालाई एकै ठाउँमा भेला गराएर पार्टीको आगामी रणनीति र कार्यदिशाबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो।
पार्टीभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण र संगठन सुदृढीकरणको बहस चलिरहेका बेला आयोजना भएको भेलालाई कांग्रेसको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
तीन दिनसम्म चल्ने भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टीको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी दिनमा कांग्रेसले लिनुपर्ने नीति, संगठन निर्माण र राजनीतिक रणनीतिबारे धारणा राख्ने तयारी गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्