काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’ नभई ‘श्रद्धेय नेता’ का रूपमा सम्बोधन गरेका छन्।
शुक्रबार संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देउवालाई पूर्वप्रधानमन्त्री तथा श्रद्धेय नेता भनेर सम्बोधन गरेका हुन्। उनको सम्बोधन कांग्रेसभित्र जारी नेतृत्व विवादका बीच अर्थपूर्ण रूपमा हेरिएको छ।
कोइरालाभन्दा अघि भेलालाई सम्बोधन गरेका केही नेताले भने देउवालाई अझै पार्टीको सभापति रहेको दाबी गरेका थिए। नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवालाई सभापतिकै रूपमा सम्बोधन गर्दै कांग्रेसको आगामी १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने बताएका थिए।
संस्थापनइतर पक्षले काठमाडौँको चुनदेवीमा सञ्चालन गर्दै आएको कार्यालयमा देउवाको कार्यकक्षबाहिर ‘सभापति’ उल्लेख गरिएको बोर्डसमेत राखिएको छ।
तर, सोही समूहको राष्ट्रिय भेलामा प्रभावशाली नेता कोइरालाले देउवालाई सभापतिको हैसियतमा सम्बोधन नगरेर पूर्वप्रधानमन्त्री तथा श्रद्धेय नेताका रूपमा प्रस्तुत गरेका छन्।
यसले कांग्रेसभित्र विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उत्पन्न भएको वैधानिकता र नेतृत्व विवाद अझै गहिरो रहेको संकेत गरेको छ। एकै भेलामा केही नेताले देउवालाई वर्तमान सभापति मानेर अभिव्यक्ति दिँदा कोइरालाले भने फरक शब्दावली प्रयोग गर्नुले संस्थापनइतर समूहभित्रै नेतृत्वबारे समान धारणा नरहेको देखाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्