कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले एमालेबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका हुन्।
एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्लले आर्थिक मामिलामन्त्री र दमन भण्डारीले भूमि व्यवस्था तथा सहकारीमन्त्रीका रूपमा शपथ लिए।
यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ लिएकी छन्।
एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो। सोही निर्णयअनुसार एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन्।
यसअघि शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश प्रमुख मियाँसमक्ष उनले पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
मुख्यमन्त्री भट्टले शपथ लिए पनि नेपाली कम्युनिस्ट पार्टीबाट भने तत्काल कुनै मन्त्री नियुक्त गरिएको छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्