कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको नेतृत्व गर्ने व्यक्ति परिवर्तन हुँदैमा सरकारले गरेका राम्रा काम ओझेलमा पर्न नहुने बताएका छन्।
बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले विकासका राम्रा कामलाई नेतृत्व परिवर्तनसँगै रोक्न नहुने बताएका हुन्।
कार्यक्रममा केही जनप्रतिनिधिले ‘भोलि–पर्सि अर्को मुख्यमन्त्री आउने’ भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै शाहले सरकारको नेतृत्व परिवर्तन भए पनि राम्रा कामले निरन्तरता पाउनुपर्ने बताए।
“केही मेयरसापहरूले भोलि–पर्सि अर्को सरकार आउने कुरा गरिरहनुभएको थियो। आजको यस्तो शुभ दिनमा त यस्तो कुरा नगरौँ,” उनले मुस्कुराउँदै भने, “व्यक्ति परिवर्तन हुँदैमा राम्रा कामहरू ओझेलमा पर्नुहुँदैन।”
पर्यटनबाट आर्थिक समृद्धिको आधार
मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा आर्थिक समृद्धिका पर्याप्त आधार रहेको बताए।
खप्तड, बडिमालिका र रामारोशनजस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई प्रदेशको आर्थिक विकासको आधार बनाउन सकिने उनको भनाइ छ।
सुदूरपश्चिमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन खप्तडले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले विश्वप्रसिद्ध व्यक्तिहरूको भ्रमणले सुदूरपश्चिमसँगै नेपाललाई समेत अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग पुगेको बताए।
नेपाली सेनाले बडिमालिकामा मन्दिर निर्माण गरेपछि पनि उक्त क्षेत्र थप चर्चामा आएको उनको दाबी थियो।
“हामीले हाम्रा प्रयासहरू निरन्तर अगाडि बढाइरहेका छौँ। आर्थिक समृद्धि, उत्पादन र रोजगारीसँग पनि त्यहाँका नागरिकलाई जोड्नुपर्छ,” शाहले भने।
मुख्यमन्त्री शाहले स्थानीय तह र प्रदेश सरकारबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताए।
बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा कार्यक्रम घोषणामै सीमित नरहने र पूर्ण रूपमा कार्यान्वयन हुने उनले बताए।
“यो घोषणा मात्रै भएर सीमित रहँदैन, पूर्ण रूपमा कार्यान्वयन हुनेछ,” उनले भने।
शाहले आफू पहिलोपटक मुख्यमन्त्री हुँदा रामारोशन पुगेको स्मरण गर्दै उक्त क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्न दुई वर्ष लागेको बताए।
अब कार्यान्वयनमा ढिलाइ गर्ने छुट नरहेको उनको भनाइ छ।
“अब ढिलासुस्ती गर्ने हामीलाई छुट छैन। सीमित स्रोत–साधनका बाबजुद पनि हामीले केही कार्यक्रम अघि बढाएका छौँ। स्थानीय तहलाई समेत जोडिएको हुँदा कार्यान्वयनको पाटो अघि बढ्छ,” उनले भने।
उनले वन संरक्षण क्षेत्रको घोषणा कार्यान्वयनलाई गति दिनुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्