म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ।
प्रशासनका अनुसार यी दुवै सडकमा साँझ ५ बजेदेखि शनिबार बिहान ७ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँबाट प्राप्त मौसम पूर्वानुमानअनुसार म्याग्दीमा शुक्रबार राति भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यातायात रोकिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।
उनका अनुसार स्तरोन्नतिको क्रममा रहेका दुवै सडकखण्डमा पहिरो खस्ने तथा नदीले सडक कटान गर्ने जोखिम रहेको छ।
‘स्तरोन्नतिको क्रममा रहेका बेनी–जोमसोम र बेनी–दरवाङ सडकखण्डमा पहिरो खस्ने तथा नदीले कटान गर्ने समस्या छ। रातिको समयमा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भएकाले यो सावधानी अपनाइएको हो,’ प्रजिअ आचार्यले भने।
मुस्ताङ जाने मुख्य सडक पनि बन्द
बेनी–जोमसोम सडक म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने प्रमुख स्थलमार्ग हो।
त्यस्तै, बेनी–दरवाङ सडकले धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ।
भारी वर्षाका कारण पहिरो तथा सडक कटानको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले रातिको समयमा यात्रा नगर्न तथा सडकको अवस्था बुझेर मात्र आवागमन गर्न आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्