काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । पहिरो, सडक कटान तथा बाढीका कारण काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडक सञ्चालन हुने जनाइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो–लिपिङ क्षेत्रमा सडक भासिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ ।
पहिरोले भेरी करिडोरदेखि कोशी राजमार्गसम्म प्रभावित
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलानजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड बन्द भएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक अवरुद्ध भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोले बेनी–जोमसोम सडकखण्डमा यातायात प्रभावित भएको छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोका कारण भालुवाङ–लिवाङ सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
लगातार वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ । साथै, जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्