पोखरा । वर्षायाममा बाढी, पहिरो, डुबान तथा डेब्रिस फ्लोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जारी गरेको सूचनामा अविरल वर्षाका कारण नदी तथा खोलाको बहाव र जलसतह बढ्ने, आकस्मिक बाढी तथा भेल आउने, नदी–खोला आसपास पहिरो जाने र सडक भासिन सक्ने जोखिम रहेको उल्लेख छ ।
प्रशासनका अनुसार वर्षापछि चर्को घाम लाग्दा समेत सुख्खा पहिरो खस्न सक्ने तथा खोला थुनिएर एक्कासि खुल्दा माथिल्लो भागबाट पहिरोसहितको लेदो आउन सक्ने जोखिम छ ।
जोखिमपूर्ण अवस्थामा नदी तथा खोलामा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, ढुंगा–बालुवा–गिट्टी निकाल्ने तथा गाईवस्तु चराउने वा पानी खुवाउनेजस्ता कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।
त्यस्तै, खोला किनारमा भलिबल, फुटबल, क्रिकेटलगायत खेल नखेल्न तथा अभिभावकले बालबालिकाको विशेष निगरानी गर्न भनिएको छ ।
नदी–खोला किनार र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई जलसतह बढ्न थालेमा तत्काल सुरक्षित स्थानमा जान तथा आवश्यक सामग्री सुरक्षित राख्न प्रशासनले आग्रह गरेको छ । चालकलाई पनि नदी तथा खोलाको किनारमा पर्ने सडक र बजार क्षेत्रमा सवारीसाधन रोक्न वा पार्किङ नगर्न अनुरोध गरिएको छ ।
विपद्को अवस्था आएमा नजिकको प्रहरी, प्रहरीको निःशुल्क नम्बर १०० वा विपद् सूचना तथा उद्धार टोल फ्री नम्बर ११३४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।
खोलाले बगाएर तीन जना बेपत्ता
अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखरामा तीन जना बेपत्ता भएका छन् ।
पोखरा–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । पोखरा–१४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउने क्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा खोटाङ घर भई हाल पोखरा–१४ चाउथेमा बस्दै आएका सुवास राईका १५ वर्षीय छोरा ओमन राई र स्याङ्जा घर भई पोखराको छिनेडाँडामा बस्दै आएका चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ रहेका छन् ।
त्यस्तै, पोखरा–शिशुवामा खोला तर्ने क्रममा अर्का एक जना पनि बेपत्ता भएका छन् । उनको पहिचान खुल्न बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।
तीनै जनाको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्