काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हाउस’ स्थापना गर्न नेपाल सरकारसँग माग गरेको छ।
चीनको गोन्जाउमा जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनः एकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था नहुँदा उद्धारमा खटिने एनआरएनए प्रतिनिधिसमेत समस्यामा पर्ने गरेको बताएका हुन्।
उनीहरूले पश्चिम एसियालगायत विभिन्न एसियाली मुलुकमा रहेका नेपाली श्रमिकलाई ठगी, मानव ओसारपसार, शोषण तथा असुरक्षित आप्रवासनबाट जोगाउन सूचना, कानुनी सहायता र संरक्षण कार्यक्रम सञ्चालन गर्न श्रमिक आवासगृह आवश्यक रहेको बताएका छन्।
मलेसियालगायत प्रमुख श्रम गन्तव्य मुलुकमा सेल्टर, अस्पताल तथा सीपमूलक तालिम केन्द्र स्थापना गर्न, वैदेशिक रोजगार राहत कोषको प्रभावकारी उपयोग गर्न र आवश्यकताअनुसार एनसीसी अध्यक्षलाई वाणिज्य दूत तथा श्रमदूतको जिम्मेवारी दिनसमेत उनीहरूले सरकारसँग माग गरेका छन्।
त्यस्तै, विदेशबाट फर्किएका श्रमिकको पुनःएकीकरण तथा उद्यमशीलता प्रवर्द्धन र नेपाली राजदूतावास तथा नियोगका डिजिटल सेवा विस्तार गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिएका छन्।
सरकार–एनआरएनए सहकार्यमा जोड
सत्रका सभापति तथा एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेले धेरै नेपाली श्रमिक रहेका मुलुकमा सरकारले नै सेल्टर हाउस स्थापना गर्नुपर्ने बताए। श्रमिक समस्यामा पर्दा सुरक्षित स्थानको अभावमा एनआरएनए प्रतिनिधिले आफ्नै पहलमा व्यवस्थापन गर्नुपर्ने र त्यसक्रममा कानुनी तथा अन्य समस्या झेल्नुपरेको उनको भनाइ छ।
उनले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सीप सिकाएर मात्र विदेश पठाउने व्यवस्था गर्नुपर्ने बताए। सरकार र एनआरएनएको सहकार्यमा स्किल एकेडेमी तथा सीप परीक्षण केन्द्र स्थापना गर्नुपर्नेमा पनि उनले जोड दिए।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले वैदेशिक रोजगारीको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै यस विषयमा बृहत् छलफल आवश्यक रहेको बताए। उनले केही महिनाभित्र नेपालमा वैदेशिक रोजगारसम्बन्धी छुट्टै बृहत् सम्मेलन आयोजना गर्ने जानकारी दिए।
परराष्ट्र मन्त्रालयको डायस्पोरा समन्वय महाशाखाका उपप्रमुख कृशु क्षेत्रीले विदेशमा नेपाली दूतावास तथा नियोगपछि समस्यामा परेका नेपालीले एनआरएनएलाई सम्झने गरेको बताए।
श्रमिकको मानसिक स्वास्थ्यमा पनि ध्यान
एनआरएनए उपाध्यक्ष जुनु गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपालीको मानसिक स्वास्थ्यका विषयमा भइरहेका काम तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिइन्। सहभागीहरूले सुरक्षित वैदेशिक रोजगारसँगै विदेशबाट फर्किएका श्रमिकको पुनःएकीकरण र मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्